जनकपुरधाम, २१ पुस । जनकपुरधामका बैद्यनाथ साह आफूलाई अभियन्ता र समाजसेवीको रुपमा चिनाउँछन् । उनले आफूलाई ‘सेवक बैद्यनाथ’ भन्न रुचाउँछन् । जनकपुरधाममा आफू ठूलो समाजसेवी र सेवक हुँ भन्न उनी कहिल्यै पछि पर्दैनन् ।

उनी कहिले गरीबहरुको सेवा, कहिले अस्पतालमा रहेका असहायहरुको सेवा, कहिले कुनै गरीबको छोरीको बिहे त कहिले जानकी मन्दिरको सरसफाइमा आफू अति नै व्यस्त र मस्त रहेको कुरा समय समयमा सामाजिक सञ्जालमार्फत देखाउन खोज्छन् । बैद्यनाथले असहायहरुको सेवा गर्ने भावनाका साथ जनकपुरधाममा ‘असहाय संरक्षण मञ्च’ नामक सामाजिक संस्था पनि खोलेका छन् । गरीब, दिनदुःखीहरुको सेवा गर्ने अभिप्रायका साथ सञ्चालनमा ल्याइएको सो संस्थाको नाममा बैद्यनाथले गुठी संस्थानसँग जग्गा, जनकपुरधाम उपमहानगरपालिकासँग सो जग्गामा भवन निर्माणका लागि लाखौंको आर्थिक सहयोग र भारत सरकारसँग एउटा एम्बुलेन्स पनि प्राप्त गरेका छन् ।

तर, अब कुरा आउँछ कि सहयोगी मनका साथ सहयोगको भावना लिएर संस्थाका लागि विभिन्न सहयोगहरु प्राप्त गर्दै सञ्चालनमा ल्याइएको ‘असहाय संरक्षण मञ्च’ले के साँच्चिकै दिनदुःखी र गरीबहरुको सहयोग गरिरहेको छ त? के ‘असहाय संरक्षण मञ्च’ आफ्नो नामजस्तै एउटा सामाजिक संस्था नै हो त? के यो संस्थाले अहिलेसम्म धेरै गरीब र दिनदुःखीहरुको पीडालाई बुझ्दै उनीहरुको पीडामाथि मल्हम लगाउने काम गरेको छ त? यी र यस्ता सवालहरु तपाईंको मनमा खेलिरहे पनि ‘असहाय संरक्षण मञ्च’ले असहायहरुका लागि अहिलेसम्म त्यस्तो एउटा पनि उदाहरणीय काम गर्न सकेको छैन् ।

२०७७ साल चैत २५ गते गुठी संस्थान जनकपुरले ‘असहाय संरक्षण मञ्च’लाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ कुवा रामपुरमा ९ कठ्ठा ६ धुर ३ कनमा जग्गा उपलब्ध गराएको थियो । सो जग्गा २०७७ देखि २०८२ साल सम्मका लागि गुठीले मञ्चलाई उपलब्ध गराएको हो ।

जग्गामा मञ्चले अस्थायी संरचना मात्र बनाउन पाउने सर्तका साथ गुठी संस्थानले जग्गा उपलब्ध गराएको संस्थानका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए ।

त्यसपछि मञ्चका अध्यक्ष बैद्यनाथ साहलाई जनकपुरधाम उपमहानगरपालिकाले सो जग्गामा घेराबार कार्यका लागि समानिकरण अनुदानस्वरुप आर्थिक वर्ष २०७८/७९ मा १३ लाख र आर्थिक वर्ष २०७९/८० मा ५ लाख रुपैयाँ उपलब्ध गराएको जनकपुरधाम उपमहानगरपालिकाका लेखापाल नन्द कुमार झाले जानकारी दिए । अध्यक्ष साहले गत आर्थिक वर्षमा उपमहानगरसँग लिएको १३ लाख रुपैयाँबाट सो जग्गामा घेराबार नगरी सटर निर्माण गर्न लगाएका छन् । जबकि उनलाई उपमहानगरले घेराबार कार्यका लागि सो रकम उपलब्ध गराएको थियो । अध्यक्ष साहले असहायको नाममा गुठीसँग जग्गा लिएर उपमहानगरसँग आर्थिक सहयोग प्राप्त गरी सो जग्गामा सातवटा सटरहरु निर्माण गर्न लगाएका छन् ।

अध्यक्ष साहले असहाय संरक्षण मञ्चको संरचना निर्माणका लागि उपमहानगरसँग लाखौं रकम लिएपनि भवन निर्माण गरेका मजदुरहरुको पनि पैसा भुक्तानी गरेका छैनन् ।

जनकपुरधाम–१२ बस्ने दिलिप सदाले मञ्चका अध्यक्ष साहले आफूसँग ३ महिना काम गराएर पैसाको हिसाबकिताबसमेत नगरेको बताए । उनले विवाह मण्डप निर्माण गर्ने भन्दै आफूसँग अध्यक्ष साहले काम गर्न लगाएर पछि पैसा दिन आनाकानी गरेको बताए ।

एक वर्ष अगाडि हनुमानगढी स्थानको सो जग्गामा धान उब्जनी हुँदै आएपनि अहिले त्यहाँ असहायको नाममा बजेट लगेर मञ्चका अध्यक्ष साहले सटरहरु निर्माण गर्न लगाएको स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

यता, यस सम्बन्धमा असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साहले मञ्चले गुठीसँग जग्गाको सम्झौता गरी सो जग्गामा असहाय सेवा सदन निर्माण गरिरहेको बताए । उनले मञ्चले सो सदन निर्माण गरेर पछि समाजलाई नै हस्तान्तरण गर्ने जानकारीसमेत दिए ।

अध्यक्ष साहले गरीब असहायहरुका लागि निशूल्क उपलब्ध गराउने उद्देश्यले धर्मशाला र बिबाह भवन निर्माण भइरहेको बताए । उनले निर्माण कार्य सम्पन्न भएसँगै आफू तुरन्त समाजलाई हस्तान्तरण गर्न तयार रहेकोसमेत बताए ।

उनले भने, ‘मैले आफ्नो व्यक्तिगत नाफाका लागि असहाय सेवा सदन बनाइरहेको छैन् । समाजसँग सोधेर बनाइरहेको छु । कसैलाई कुनै शंका लागेको छ भने म अहिले नै निर्माण कार्य बन्द गर्न सक्छु ।’

साहले निर्माण कार्यमा केही व्यक्तिले माटो, केहीले सिमेन्ट सहयोग गरेको र निर्माण सम्पन्न भएपश्चात त्यहाँ कर्मचारी पनि खटाउनुपर्ने भएकोले सटर निर्माण गरिएको बताए । उनले यो काम आफ्नो लागि नभई समाजको लागि भइरहेको दाबी गरे ।

अध्यक्ष साहले अहिलेसम्म आफूले १३ लाख रुपैयाँ मात्र पाएपनि त्यहाँ २० लाखको काम गराइसकेको दाबीसमेत गरेका छन् ।

असहायको नाममा ल्याइएको एम्बुलेन्स पनि ठेक्कामा

अति आवश्यक सेवा दिने सवारी साधनको रुपमा रहेका कारण एम्बुलेन्स खरिदमा सरकारले राजश्व छुट दिएको छ । यसलाई बेच्न र ठेक्कामा लगाउन पाइँदैन । तर, जनकपुरधाममा एम्बुलेन्स बेच्ने र ठेक्कामा दिने प्रबृति मौलाउदै गएपनि सम्बन्धित निकायले अहिलेसम्म कुनै कारवाही गरेको छैन् ।

तर, जनकपुरधामका विभिन्न संघसंस्थाहरुले भारतीय दूतावासबाट अनुदान स्वरुप पाएको एम्बुलेन्स व्यक्तिगत मुनाफाका लागि बेच्ने र ठेक्कामा लगाउने गरेको पाइएको छ ।

मञ्चका अध्यक्ष साहले पनि असहाय संरक्षण मञ्चको नाममा भारत सरकारबाट सहयोगस्वरुप पाएको एम्बुलेन्स ठेक्कामा लगाएका छन् ।महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको उपलक्ष्यमा जनकपुरधामका असहाय संरक्षण मञ्चसहित ४७ वटा सामाजिक संस्थालाई भारत सरकारले २०७७ साल असोज महिनामा एम्बुलेन्स सहयोग गरेको थियो ।

गरिव, असहाय, अपांग र वृद्धवृद्धाहरुलाइ औषधी उपचारदेखि विभिन्न काममा सक्रिय सहयोगका लागि मञ्चलाई भारतीय राजदूतावासले उपहारस्वरुप सो एम्बुलेन्स प्रदान गरेको थियो ।

आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले असहाय संरक्षण मञ्चलाई एम्बुलेन्स उपलब्ध गराएपनि अहिले त्यो एम्बुलेन्स मञ्चका अध्यक्ष साहले मासिक ३५ हजारको दरले ठेक्कामा लगाएर नाफा कमाइरहेका छन् ।

प्रदेश–२–०२–००१ च ०३९२ नम्बरको सो एम्बुलेन्समा नेपाल–भारत सहयोग लेखिएको भएपनि अहिले ति अक्षरहरुलाई मेटाएर मञ्चका अध्यक्ष साहले धनुषाको बटेश्वर गाउँपालिका बस्ने सुकेश्वर महतोलाई मासिक ३५ हजारको दरले ठेक्कामा दिइसकेका छन् । सो एम्बुलेन्सलाई नाफा कमाउने उद्देश्यले प्रयोग गरिरहेको पाइएको छ ।

सुरुमा उक्त एम्बुलेन्स चलाउनका लागि अध्यक्ष साहले एम्बुलेन्स चालक संघ धनुषाका अध्यक्ष अरमान साहलाई मासिक १३ हजारको दरले चालकमा नियूक्त गरेका थिए । ३ महिनापछि उनले सोही गाडी अरमानलाई नै मासिक ३० हजारको दरले ठेक्कामा दिए ।

अरमानले सो गाडी एक वर्षसम्म ठेक्कामा चलाए । संयोगबस केही दिनपछि गाडी दुर्घटनामा परेपछि अध्यक्ष साहले अरमानसँग सो गाडी खोसेर बटेश्वरका सूर्यदेव महतोलाई ठेक्कामा लगाए । अहिले सो एम्बुलेन्स सूर्यदेवको जिम्मामा रहेको छ । एम्बुलेन्समा बिरामी बोक्न मात्र पाइने नियम रहेपनि असहाय संरक्षण मञ्चलाई सेवा गर्ने भावनाका साथ उपहारस्वरुप प्रदान गरिएको सो एम्बुलेन्स अहिले शववाहनको रुपमा पनि प्रयोग भइरहेको देखिन्छ ।

सेवामूलक संस्था भनेर प्रदान गरिएको सो एम्बुलेन्सलाई अहिले गैरकानूनी तवरले सञ्चालन गरि नाफामूलक बनाइएको छ ।

एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस जडान गरिएको छ ।

अरमानले भने,‘यहाँका अधिकांश संस्थाले एम्बुलेन्सलाई कमाइ खाने भाँडो बनाएका छन् । राजस्व छुट वा सहयोगमा प्राप्त एम्बुलेन्सलाई मासिक १० देखि ३० हजारसम्ममा भाडामा लगाएर रकम असुली गर्ने गरिएको छ । बिक्रीनामा कागज समेत तयार गरेर १० देखि १५ लाख सम्ममा बेचिन्छ ।’

सरोकारवाला निकायको अनुगमन अभावको कारण यस्तो समस्या आउने गरेको उनको दुःखेसो छ । साहले एमबुलेन्सको नियमन गर्ने निकायहरुको अभाव र अनुगमन नगर्ने प्रवृतिका कारण जनकपुरमा समस्या आएको सुनाए ।

पछिल्लो डाटाअनुसार नेपाल भारतको सहयोगमा २३ वटा गरी जम्मा ७८ वटा एम्बुलेन्स धनुषामा सञ्चालित छन । जसमध्ये मापदण्ड बिपरित १२ वटा ठेक्कामा लगाइएका छन् भने ६ वटा गैरकानुनी रुपमा बेचिएको एम्बुलेन्स चालकहरुको आरोप छ ।