नेपाली सेनाका उपरथी शाहीको घरमा सैनिक प्रहरीको छापा

काठमाडौं, २१ पुस । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ ।
बुढानीलकण्ठ नगरपालिका–२ भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो ।
शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले मंगलबार नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले शाहीको घरमा छापा मारेकोबारे आफूलाई थाहा नभएको बताए ।
कार्यालयका कागजात घरमा हुनसक्ने भन्दै सैनिक प्रहरी गणको टोली शाहीको घरमा पुगेर छापा मारेको हो । सैनिक टोलीले नेपाल प्रहरीको टोलीलाई पनि साथमै लगेको थियो ।
हालसम्म शाहीको घरमा त्यस्ता कुनै कागजात नभेटिएको स्रोतले बताएको छ । शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिन्थे । उनको शैक्षिक प्रमाण पत्रमा दुईथरी उमेर देखिएको थियो । सैनिक मुख्यालयको अभिलेख अनुसार उनी अवकाशमा जाँदै थिए ।
अवकाशको १५ दिनअघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


