जनकपुरधाम, २१ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेशले संसदीय दलको नेता चयनका लागि बैठक बोलाएको छ ।

शुक्रबार बिहान साढे ११ बजे जनकपुरधामस्थित होटेल सिटी स्टारमा बस्ने संसदीय दलको बैठकबाट नेता चयन गर्ने तयारी भइरहेको छ ।

बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने, सहमति नभएमा मात्रै निर्वाचन प्रक्रियामा जाने लोसपाको तयारी छ ।

लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सम्भावित व्यक्ति हुन् । यसअघि पनि उनी नै संसदीय दलका नेता रहेकाले फेरि उनको नाममा सहमति हुने सम्भावना छ ।

अहिलेसम्म नेता सोनलबाहेक अरु कसैले पनि संसदीय दलको नेता हुने दाबी नगरेकाले पनि सोनलको सम्भावना देखिएको छ ।

लोसपाको प्रदेशसभामा ९ जना सांसद छन् ।