सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिने तयारी

काठमाडौं, २१ पुस । सत्ता साझेदार दलहरूले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिने तयारी गरेका छन् ।
बुधबार बसेको गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमलाई बिहीबार पूर्णता दिने विषयमा छलफल भएको थियो ।
भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रूप दिने सहमति भएको उप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
उनका अनुसार बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे पनि छलफल भएको थियो । भागबण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा भने कुनै छलफल नभएको गृहमन्त्री लामिछानेले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिनेछन् । उनले विश्वासको मत लिनुअघि नै सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न बनेको समिति सदस्यमा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजक, माओवादीको तर्फबाट वर्षमान पुन अनन्त, राप्रपाबाट डा. धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. मुकुल ढकाल सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


