जनकपुरधाम, १८ पुस । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघियता कार्यान्वयनमा अझै पनि चुनौती रहेको बताएका छन् ।

सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघियता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताएका हुन् ।

नयाँ सरकारकालाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको समन्वयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘चुनौतीका बीच प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महत्त्व राख्दछ,’ राउतले भने, ‘ऐन र नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयो ।’

संघियता कार्यान्वयनकै लागि संघीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नु परेको पनि उनले बताए । मुलुकमा मधेस प्रदेशले मात्र संघियता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै संघियता कार्यान्वयन हुने बताए ।

स्रोतसाधनको अभावबीच ५ वर्षको यात्रा निकै कष्टकर भएको पनि मुख्यमन्त्री राउतको गुनासो थियो । पाँच वर्षे कार्यकालमा कार्यकक्ष र कर्मचारी अभावले भनेजस्तो काम गर्न नसकेको पनि उनको भनाइ थियो ।