हत्या आरोपमा बाराबाट एक किशोर पक्राउ

बारा, १५ मंसिर । बारा प्रहरीले हत्या आरोपमा एक किशोरलाई पक्राउ गरेको छ ।
जिल्लाको कोल्हवी नगरपालिका–११ का ४३ वर्षीय परीक्षण चौधरीको हत्या गरी खाल्डोमा शव गाडेको आरोपमा प्रहरीले १८ वर्षभन्दा कम उमेरका एक किशोरलाई पक्राउ गरेको हो ।
बिहीबार बिहान चौधरीको शव गोठघर पछाडि खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा फेला परेको चप्पलको आधारमा ती किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार बुधबार राति गाउँकै रामपुकार चौधरीको नास्ता पसलमा रक्सी सेवन गरी घर जाने क्रममा परीक्षणले ती किशोरसँग अप्राकृतिक मैथुन गर्न खोजेका थिए । सो क्रममा उनले दाउराले प्रहार गरी चौधरीको हत्या गरी खाल्टो खनी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


