जनकपुरधाम, १२ मंसिर । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महामहोत्सव मनाइँदै छ ।

प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमीमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरधाममा स्वयंबर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।

आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयंबर गरिनेछ ।

बाजागाज, झाँकी र किर्तनसहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंबर गर्ने प्रचलन छ ।

डोलाको दर्शन र रामजानकीको स्वयंबर हेर्न बाह्रबिघा मैदानमा हजारांैको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयंबर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ ।

राम र सीताको विवाहको लागि जानकी मन्दिर प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई सिंगारिएको छ ।

वैवाहिक कार्यक्रममा झाँकी कीर्तणसहितको सांस्कृतिक कार्यक्रमहरु आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीहरुको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ ।

वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् ।

सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ ।

आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न हुनेछ । मंगलबार रामकलेवा गरी जन्ती एवं साधुसन्तालाई बिदाइ गर्दै विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले जानकारी दिए ।

विवाहपञ्चमी अवलोकन गर्न नेपाल तथा छिमेकी देश भारतको विभिन्न स्थानबाट आएका दर्शनार्थीले जनकपुरधाम खचाखच भरेको छ ।आएका दर्शनार्थी बाह्रविघा मैदान, जानकी मन्दिरको प्रांगण, सडकपेटी, विभिन्न मठमन्दिर, कुट्टी तथा संघसंस्थामा बास बसेका छन् ।

सम्बन्धित पक्षले आवासको उचित व्यवस्थापन नगर्दा खुल्ला आकाश मूनि जानकी मन्दिर प्रांगण तथा सडकपेटीमा रातिको समयमा पनि बास बस्नु परेको छ ।

बाहिरबाट आएको श्रद्धालु भक्तजनका लागि विभिन्न संघसंस्था तथा स्थानीय क्लबहरुले निःशुल्क आवास, भोजन तथा उपचारको ठाउँठाउँमा आयोजना गरेको छ ।

यसैबीच, विवाहपञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सोमबार प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ ।