जनकपुरधाम, ०७ असोज । गोदाममा छापा मारेर सामान नियन्त्रणमा लिएको विरोधमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका व्यापारीले बुधबार बजार बन्द गरी प्रदर्शन गरेका छन् ।

स्थानीय व्यापारी शिवशङ्कर साहको गोदामबाट सामान नियन्त्रणमा लिएको विषयलाई लिएर छिरेश्वरनाथ उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

गत आइतबार जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले महेन्द्रनगरस्थित साहको शङ्कर शम्भु जनरल स्टोरको गोदाममा छापा मारेको थियो । टोलीले गोदामबाट खर्बुजाको बीउ, बदाम, पार्ले चकलेटलगायत विभिन्न सामान नियन्त्रणमा लिएर लगेको व्यापारीको भनाइ छ ।

व्यापारीहरूले आफूले वैध रूपमा खरिद गरेका सामानको बिलबिजक हुँदाहुँदै गोदामको ताला तोडेर सामान उठाइएको आरोप लगाएका छन् । त्यसको विरोधमा बजार बन्द गर्दै प्रदर्शन गर्नुपरेको छिरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले बताए ।

उनले व्यवसायीका कागजात र सामानको स्रोतको आवश्यक जाँच नगरी एकतर्फी रूपमा सामान नियन्त्रणमा लिने कार्यले स्थानीय व्यवसायीलाई निरुत्साहित बनाएको बताए । सामान वैध वा अवैध भन्ने विषय आवश्यक अनुसन्धान र प्रमाणका आधारमा टुङ्ग्याउनुपर्ने भन्दै सङ्घले निष्पक्ष छानबिनको माग गरेको छ ।

यसअघि व्यापारी साहले पत्रकार सम्मेलनमार्फत आफ्नो व्यवसायबाट नियमित रूपमा कर तिर्दै आएको र गोदाममा रहेका सामानको खरिद तथा बिक्रीसम्बन्धी बिलबिजक आफूसँग रहेको दाबी गरेका थिए । उनले गोदामबाट करिब ७५ देखि ८० लाख रुपैयाँ बराबरको सामान लगिएको दाबी गर्दै त्यसमा खर्बुजाको बीउ मात्रै करिब ३२ लाख रुपैयाँ बराबरको रहेको बताए ।

साहका अनुसार गोदाममा रहेका अधिकांश सामान नेपाली उत्पादन वा वैध माध्यमबाट खरिद गरिएका हुन् । आफूले नियमित रूपमा कर तिर्दै आएको र व्यवसायसँग सम्बन्धित कर तथा अन्य कागजातसमेत अद्यावधिक रहेको उनको दाबी छ ।

तर, जनकपुर भन्सार कार्यालयले भने व्यापारीको दाबीभन्दा फरक विवरण सार्वजनिक गरेको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलले भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको खुलेपछि गोदाममा छापा मारेर सामान नियन्त्रणमा लिइएको बताए ।

पौडेलका अनुसार छापा क्रममा करिब १६ लाख ९६ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो । भन्सार कार्यालयले नियन्त्रणमा लिइएको सामानको स्रोत तथा भन्सारसम्बन्धी प्रक्रिया अघि बढाउने जनाएको छ ।