फोहोर व्यवस्थापनका लागि जग्गा खोज्दै जनकपुरधाम उपमहानगर
जनकपुरधाम, ०७ असोज । जनकपुरधाम उपमहानगरपालिकाले दैनिक उत्पादन हुने फोहोरमैला व्यवस्थापनका लागि जग्गा भाडामा लिन खोजेको छ । उपमहानगरले दोस्रो पटक सूचना प्रकाशित गर्दै इच्छुक जग्गाधनीलाई सात दिनभित्र निवेदन पेश गर्न आह्वान गरेको हो ।
उपमहानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रै फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा भाडामा लिन लागिएको हो । उपमहानगरले तोकेको मापदण्ड पूरा गर्ने जग्गाधनीले जग्गा कुन दरमा भाडामा दिने हो भन्ने स्पष्ट खुलाएर निवेदन दिनुपर्नेछ ।
फोहोर व्यवस्थापनका लागि प्रस्ताव गरिने जग्गा एउटै स्थानमा हुनुपर्नेछ । आपसमा साँध–सिमाना जोडिएका जग्गा भए आवश्यक क्षेत्रफल पूरा हुने गरी फरक फरक जग्गाधनीले संयुक्त रूपमा समेत निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
उपमहानगरका अनुसार प्रस्तावित जग्गा बस्ती, समुदाय, विद्यालय, सडक, कुलो–पैनी, मसानघाट, सार्वजनिक जग्गा, चरन क्षेत्र, वन क्षेत्र, सार्वजनिक तथा सामुदायिक भवन, सरकारी कार्यालय वा नदी–नालालगायत क्षेत्र अतिक्रमण गरेको हुनुहुँदैन । जग्गाको स्वामित्व तथा हकभोगमा कुनै विवाद नभएको र सवारीसाधन आवतजावत गर्न सक्ने बाटोसमेत हुनुपर्नेछ ।
त्यसैगरी फोहोर व्यवस्थापन स्थलका रूपमा प्रस्ताव गरिने जग्गा बस्ती तथा विद्यालयबाट कम्तीमा एक किलोमिटर टाढा हुनुपर्ने उपमहानगरले जनाएको छ । यसले फोहोर व्यवस्थापनका कारण बस्ती तथा शैक्षिक संस्थामा प्रत्यक्ष असर नपरोस् भन्ने उद्देश्य राखिएको देखिन्छ ।
निवेदनसँगै जग्गाधनीको नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्र, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद र जग्गाको नक्सा अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । जग्गाधनी स्वयं कार्यालयमा उपस्थित भएर निवेदन दिनुपर्ने तथा उपस्थित हुन नसक्ने अवस्थामा प्रचलित कानुनबमोजिम प्रतिनिधि वा वारेस पठाउन सकिने व्यवस्था गरिएको छ ।
उपमहानगरले जग्गा भाडामा दिने दर अंक र अक्षर दुवैमा स्पष्ट खुलाउनसमेत आग्रह गरेको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र निवेदन पेश गर्नुपर्ने जनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले लामो समयदेखि फोहोर व्यवस्थापनका लागि स्थायी तथा व्यवस्थित स्थलको आवश्यकता देखाउँदै आएको अवस्थामा दोस्रो पटक जग्गा भाडामा लिन सूचना निकालिएको हो ।


