विवाहपञ्चमी महोत्सवको चौथो दिन शनिबार तिलकोत्सव विधि सम्पन्न

जनकपुरधाम, १० मंसिर । साताव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सवको चौथो दिन शनिबार तिलकोत्सव विधि सम्पन्न भएको छ ।
तिलकोत्सवको अवसरमा २५१ पाहुर लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुगेका थिए ।

राम मन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशनबीच सम्धी मिलान गरियो ।
यसअघि विवाहपञ्चमी महोत्सवअन्तर्गत बिहीबार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो । त्रेतायुगमा भगवान रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
मर्यादा पुरुषोतम श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार जनकपुरधाम नगर दर्शन, बिहीबार फूलबारी लीला, शुक्रबार धनुष यज्ञ र आज शनिबार तिलकोत्सव विधि मनाइएको हो । त्यस्तै, आइतबार मटकोर, सोमबार स्वयंवर तथा विवाह र मंगलबार रामकलेवाको आयोजना गरिनेछ ।
यस वर्ष विवाहपञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


