जनकपुरधाम, ९ मंसिर । प्रत्येक वर्ष झैँ यसवर्ष पनि जनकपुरधामस्थित एस.एम. नेपाल स्कुलले फुडफेस्टिबलको आयोजना गरेको छ ।विद्यालयका विद्यार्थीहरूलाई विभिन्न पाँचवटा समूहमा विभाजन गरि प्रतिस्पर्धामा सहभागी गराइएको थियो । जसमा कक्षा १ देखि १० सम्मका लगभग २०० जना विद्यार्थी, ७ जना मेन्टर शिक्षक लगायतका सहभागिता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि तथा निर्णायक मण्डल नवनिर्वाचित प्रदेशसभा सदस्य रामसरोज यादवका साथै बिशिष्ट अतिथि मैथिली विकाश कोषका अध्यक्ष जिवनाथ चौधरीले विद्यार्थीहरूलाई सम्बोधन गरेका थिए ।प्रमुख अतिथि यादवले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गिग विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र एस.एम. नेपाल स्कुल जस्तै अन्य विद्यालयहरूमा पनि यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।विद्यालयका संचालक दिपक कुमार ठाकुरले किताबी ज्ञान भन्दा माथी प्रयोगात्मक ज्ञान आजको मुल माग रहेको बताए । त्यस्तै मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले यस्ता कार्यक्रमहरूले विद्यार्थीमा रहेको अतिरिक्त ज्ञानलाई निखार्न सहयोग पुर्याउने र सन्तोष साह (मास्टर सेफ) झैँ देशको नाम विश्वमाझ चिनाउन सहयोग पुर्याउने बताए ।प्रतियोगितामा सहभागी हट एण्ड स्पाइसी, मिथिला भोजन, ए वन फुड, कम्बु फुड हाउस, कम्पटेटिभ कुकिङ्ग टिम मध्ये प्रथम स्थान मिथिला भोजन , द्वितीय ए वन फुड र तृतिय स्थान कम्पटेटिभ कुकिङ्ग टिमले हासिल गर्न सफल भएका थिए ।