विवाहपञ्चमीको दोस्रो दिन फूलबारी लिला सम्पन्न

जनकपुरधाम, ८ मंसिर । बुधबारदेखि सुरु भएको साताव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज दोस्रो दिन फूलबारी लिला मनाइएको छ ।
फूलबारी लिलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन बुधबार नगरदर्शन सम्पन्न भएको थियो ।

त्रेतायुगमा भगवान राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।

सोही अनुसार विवाहपञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारीमा घुमाउँदै राम र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।
हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको श्री सीताराम विवाहपञ्चमी महामहोत्सव बुधबारदेखि सुरु हुँदै छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवको तयारी पूरा भएको छ ।

मिथिलाको उत्सवमध्ये विवाहपञ्चमीलाई महामहोत्सवका रूपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइँदै आएको छ ।
महामहोत्सव अन्तर्गत भोलि तेस्रो दिन धनुषयज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौ दिन मंसिर ११ गते मटकोर, छौटौं दिन मंसिर १२ गते स्वयंवर र सातौं तथा अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


