जनकपुरधाम, ६ मंसिर । हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको श्री सीताराम विवाहपञ्चमी महामहोत्सव बुधबारदेखि सुरु हुँदैछ ।प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवको तयारी पूरा भएको छ ।

त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता जानकीबीच भएको विवाहको स्मरणमा बुधबारदेखि सुरु हुनलागेको रामजानकी विवाहपञ्चमीको अन्तिम तयारी पूरा भएको हो ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामजानकी विवाहपञ्चमीलाई भव्य रुपमा मनाउने तयारी भएको जानकारी दिए ।यद्यपी भर्खरै सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहेकोले विवाहपञ्चमी महामहोत्सव केही खल्लो देखिने उनले आनुमान गरेका छन् ।

अतिथि आमन्त्रण तथा भारतबाट जन्तीलाई निम्त्याउने कार्य भइसकेको सहायक महन्थ दासले बताए । शौचालय, खानेपानी र सरसफाइका लागि स्थानीय सरकारसँग पनि उनले छलफल गरि व्यवस्थापन गरिएको र सुरक्षा तथा सवारी व्यवस्थापनका लागि सुरक्षा निकायसँग समन्वय गरिएको बताए ।

मिथिलाको उत्सवमध्ये विवाहपञ्चमीलाई महामहोत्सवका रूपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइँदै आइएको छ ।

महामहोत्सव अन्तर्गत बुधबार पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला, तेस्रो दिन ९ गते धनुषयज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौ दिन मंसिर ११ गते मटकोर, छौटौं दिन मंसिर १२ गते स्वयंवर र सातौं तथा अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ ।

उत्तराखण्डका पर्यटन मन्त्री सतपाल महाराज जनकपुरधाम आउने

हिन्दूहरुको आस्थासँग जोडिएको भगवान सीताराम विवाह महोत्सवको प्रमुख अतिथि यस पटक भारत उत्तराखण्डका पर्यटन मन्त्री सतपाल सिंह रावत ‘सतपाल महाराज’ रहने भएका छन् ।

यस वर्ष विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन भारतीय जनता पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सन्त सतपाल महाराज मंसिर १२ गते जनकपुरधाम आउने भएका छन् ।

उत्तराखण्ड सरकारमा सतपाल महाराजले झण्डै १० वटा मन्त्रालयको कार्यभार सम्हालेका छन् । सतपाल महाराजले उत्तराखण्डको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सतपाल महाराजसँगै हरिद्वारका महामण्डलेश्वर इश्वर दास महाराज र विश्व हिन्दू महासंघका महामन्त्री राजेन्द्र पंकजको नेतृत्वमा विवाहपञ्चमी महामहोत्सवअन्तर्गत जन्तीमा सहभागी हुन साधुसन्तहरु जनकपुरधाम आउन लागेका छन् ।

सतपाल महराजको भ्रमणले मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको उत्तराखण्डबीच धार्मिक, सांस्कृतिक सम्बन्ध विस्तारमा मद्दत मिल्ने छ ।

विवाहपञ्चमीमा पनि नबल्ने भयो मन्दिरको लाइट

बुधबारदेखि सुरु हुन लागेको विवाहपञ्चमी महामहोत्सवमा पनि जानकी मन्दिरको सौन्दर्यीकरणका लागि जडान गरिएका लाइटहरु नबल्ने भएका छन् ।

जानकी मन्दिरका एक पूजारीले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहलगायत अन्य विभिन्न पक्षले रात्रिकालिन समयमा जानकी मन्दिरमा बल्ने सौन्दर्य लाइटले थप सुन्दरता थपेको भन्दै सामाजिक सञ्जालमा सकारात्मक चर्चा बटुलिरहँदा वास्तविकता भने बेग्लै रहेको बताए ।

उनले भने, ‘गत कार्तिक ११ गते बृहत्तरका अध्यक्ष साहले बृहत्तरको अथक प्रयासबाट त्यो दिनदेखि नै जानकी मन्दिरको बत्ति बलेको भन्दै सामाजिक सञ्जालमा खुब चर्चा बटुलेका थिए । तर, त्यो दिनपश्चात उनी एकपटक पनि फर्केर यहाँ आएका छैनन् । अहिलेसम्म मन्दिरको कुनैपनि बत्ति बलेको छैन् । अध्यक्ष साहले आफूले मन्दिरको बत्ति बालेको भन्दै सामाजिक सञ्जालमा आफ्नो तस्बिरसहित पोष्ट गरेर वाहवाही मात्र पाएपनि काम भने केही गर्न सकेनन् ।’

यसअघि जानकी मन्दिरमा विद्युतीकरणको नाममा व्यापक अनियमितता भएको पाइएको थियो । करोडौँ रुपैयाँ लगानी गरेर विद्युतीकरण गरिएपनि मन्दिरमा बत्ती नबलेपछि चौतर्फी आलोचनापश्चात त्यसमा आर्थिक अनियमितता भएको कुरा बाहिरिएको थियो ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा करिब पौने १२ करोडको लागतमा मन्दिरमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा विद्युतीकरण गरिएको थियो ।

कुल ११ करोड ७४ लाखको लागतमा जानकी मन्दिरमा ४४७ वटा चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ थान, सोलार स्ट्रीट लाईट १६ थान, स्ट्रीट लाइट ४८ थान, स्पीकर ७४ थान, ३० केभीएको स्टेपलाइजर र यूपीएस लगायतका सामग्री जडान गरिएको बृहत्तरको दाबी छ ।