जनकपुरधाम, १ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)को प्रदेशसभा सदस्य पदमा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूबिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

यस क्षेत्रमा अन्ततः सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका परमेश्वर साह र एमालेबाट उम्मेदवार रहेका दिपेन्द्र ठाकुरबिच प्रतिस्पर्धा हुने देखिन्छ ।

एमाले-जसपा गठबन्धनबाट उम्मेदवार बनेका ठाकुर जनकपुरधामका प्रसिद्ध रामानन्द यूवा क्लवका पूर्वअध्यक्ष समेत रहेकाले उनको पक्षमा यूवा वर्गको साथ रह्ने अनुमान गरिएको छ ।

यता लोसपाका उम्मेदवार परमेश्वर आफूले गरेको काम जनताले देखेको र प्रदेशसभामा आफूले प्रदेशको नामाकरण र राजधानी तोक्न खेलेको भूमिकाको विषयमा जनतालाई राम्ररी जानकारी रहेकाले आफ्नै पक्षमा मतदान गर्ने दावी गर्छन् ।

यता, जनकपुरधाममा जातीय समिकरणले पनि विशेष महत्व राख्ने भएकाले परमेश्वर धनुषा ३(ख)मा मजबुत उम्मेदवार रहेको कतिपयको आंकलन छ ।

गठबन्धन दलका यी दुबै उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारहरू अम्भु प्रसाद साह र हरिशंकर साहले टक्कर दिइरहेका छन् ।