डोटी, २३ कार्तिक । डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मंगलबार राति २ बजेर १२ मिनेट जाँदा गएको भूकम्पका कारण त्यहाँ यो मानवीय क्षतिसँगै अन्य क्षति पनि भएको छ ।

डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर–३ को गैरा गाउँमा ८ वटा घर पूर्णरुपमा भत्किएका छन् । ती घर भत्किँदा ६ जनाको मृत्यु भएको हो ।

डोटीको खप्तड राष्ट्रिय निकुन्ज केन्द्रबिन्दू बनाएर मंगलबार राति ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ का अधिकांश घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ४० वर्षीय प्रेम बोहोरा, ४० वर्षीया भगवती बोहोरा, १३ वर्षीया सीता बोहोरा, ८ वर्षीय हर्क बोहोरा, १४ वर्षीया धन्सरी बोहोरा र १४ वर्षीय कितुलछी बोहोरा रहेका छन् ।

त्यहाँ अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । अन्य दुईजना बेपत्ता भएको पनि प्रहरीले जनाएको छ । मध्यराति भूकम्पको धक्का महसुस गरेपछि बाहिर निस्किएका स्थानीयले खुला आकाशमा रात बिताएका छन् ।