जनकपुरधाम, २२ कार्तिक । धनुषा र सिरहाको सिमाना छुट्याउने कमला नदीमा मंगलबार श्रद्धालुको घुइँचो लागेको छ ।

कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै आ–आफ्ना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुग्ने गरेका छन् ।

कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो भूतमेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण स्नान गर्न आउने गर्छन् ।

कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नानका लागि गाउँगाउँबाट मंगलबार बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् ।

नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासले स्नान गर्नेको संख्या बढ्दै गएको गणेशमान चारनाथ नगरपालिका गोदारका भोला साह बताउँछन् ।

भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।