जनकपुरधाम, २० कार्तिक । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा सम्पन्न गरेको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न प्रदेश निर्वाचन कार्यालयले शनिबार बिहानमात्र निर्देशन दिएको थियो । तर, निर्वाचन कार्यालयको निर्देशनलाई सो संस्थाले अटेर गरेको पाइएको छ ।

निर्वाचन कार्यालयको निर्देशनपश्चात पनि संस्थाको १५औं वार्षिक साधारणसभा भव्य कार्यक्रमकाबिच शनिवार दिउँसो सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रुमाकुमारी सिंहको अध्यक्षता तथा पूर्वअध्यक्ष रामसेबक महतोको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको छ ।

यसअघि, शनिबार बिहानमात्र प्रदेश निर्वाचन कार्यालयले सो संस्थाले महेन्द्र उच्च मावि ढल्केबरमा नर्ग लागेको साधारणसभा सम्बन्धमा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रतिन्द्र डंगोललाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गराउन निर्देशन दिएको थियो ।

यस सम्बन्धमा जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले कार्यक्रम सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताए ।

‘शनिबार बिहान महेन्द्र उच्च मावि ढल्केबरमा नर्ग लागेको साधारणसभा सम्बन्धमा आचारसंहिता उल्लंघन हुने भनी उजुरी प्राप्त भएपछि निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थिर्यौ, उनले भने, ‘तर, हाम्रो निर्देशनका बाबजुद त्यो कार्यक्रम कसरी आयोजना गरियो, विस्तृत बुझेर मात्र केही भन्न सक्छु ।’

साधारणसभामा संस्थाको आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थामा हाल २७८ समूह संख्या रहेको छ भने महिला समूहको संख्या २१२ रहेको छ । हाल संस्थामा जम्मा १ हजार ५६० जना सदस्य छन् । संस्थाको शेयर रकम हाल ६५ लाख ४७ हजार रहेको छ ।

उता, सोही पालिकाको वडा नम्बर–२ नक्टाझिजस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले पनि आफ्नो २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।