–ज्योति झा
जनकपुरधाम, २० कार्तिक । ‘राजनीति’ शब्द गाउँदेखि सहर सबैले सुनेको र बुझेको हुन्छ । राजनीतिको शुरूवात रामायणकाल भन्दा पनि प्राचिन छ । चाहे त्यो चक्रब्यूह रच्न होस् वा चौसर खेलमा पाण्डवलाई हराउन । कुनै पनि देशको उन्नति प्रगतिमा राजनीतिको ठूलै भूमिका हुन्छ । राजनीतिबाट कुनै देश अछुतो छैन् । बिना राजनीति र बिना नेता कुनैपनि देशको विकासको कल्पना गर्न सकिँदैन ।किनभने कोहि त यस्तो हुनुपर्छ जसले सबैको भलाईका लागि काम गरोस् र सबैलाई मिलाएर हिंडन सकोस् ।

नेताको अर्थ लिडर हो । हुनत लिडर धेरै प्रकारका हुन्छन् । तर, म कुरा गर्दैछु आमजनताको लिडरको । अर्थात हाम्रो नेताज्यूको । अहिले चुनावको समयमा जित्ने होडबाजी र लिडर बन्ने जुनुन सबैमा देखिएको छ । हो, लिडर त हामीलाई पक्कै चाहिएको छ । हाम्रो लागि अगुवाई गर्ने, हाम्रो माग सम्बोधन गराउन पहल गर्ने, हाम्रो अधिकारको लडाईंमा साथ दिने, हाम्रो आवाज बनिदिने, सम्बन्धित निकायसम्म हाम्रो कुरा पुर्याइदिने । तर, लिडर फेरी कस्तो चाहियो त ?

लिडरमा केही खास गुण हुन्छन् या यो भनौं कि हुनै पर्छ । जस्तै आत्मविश्वास, राम्रो कम्युनिकेशन, धैर्यता, इमान्दारिता, कमिटमेन्ट, जिम्मेवारी वहन गर्ने स्किल, प्रेरणा बन्ने कला र प्रतिनिधित्व गर्न सक्ने क्षमता आदि । नेता अथवा लिडरमा देश र समाजको उन्नती प्रगति, शान्ति कायम गर्न सक्ने क्षमता र सहि निर्णय लिन सक्नुपर्ने गुण हुनु धेरै आवश्यक छ । लिडरमा सही र कठिन निर्णय लिन सक्ने क्षमता र साहस पनि हुनुपर्दछ । आफ्नो सन्तानले नै केहि गल्ती गरेको छ भने उसमाथि पनि कारबाही गर्न सक्ने, जनतालाई सर्वोपरि बुझ्ने र आवश्यकता बुझ्ने पनि क्षमता हुनुपर्छ ।

नेता उत्पादन गरेर कुर्सीसम्म पुर्याउने काम हामी आमजनताको हो । सबभन्दा ठूलो खेलाडी हामी नै हौं । किनभने हामीले जसलाई हाम्रो नेतृत्व गर्ने अधिकार दिन्छौं उ नै हाम्रो लिडर बन्ने हो । तर, पानीको बेगजस्तै नबगेर शान्त मनले हामीले निर्णय गर्नुपर्ने हुन्छ कि कसले हाम्रो भलो, समाजको उन्नति र हाम्रो लागि सोच्न सक्छ । हाम्रो लिडर बन्ने योग्यता जसमा हुन्छ हामीले त्यस्तालाई नै चिन्नुपर्छ । तर, के हामीसँग त्यस्ता अप्सन छ त? यस्तो कोहि छ जसले हाम्रो लागी काम गर्न सकुन्?

यसपालीको निर्वाचनमा त हाम्रो वरिपरि केहि यस्ता नेताहरू पनि छन् जसले आजसम्म आफ्नो घरबाहिर के भइरहेको छ? छिमेकमा कसलाई के पीडा भयो? लगायतका गतिविधिहरू हेर्नसम्म गएका छैनन् । तर, बाहिरीशक्तिको आडमा घर बसेर नै उनी हाम्रो लिडर बन्ने सपना बुनिरहेका हुन्छन् ।

जो जितेर गएपछि पाँच वर्षसम्म हामीलाई फर्केर कहिल्यै हेर्न आएनन् । जसले वातानूकुलित गाडीबाट आफ्नो खुट्टा कहिल्यै बाहिर निकालेनन । उनीहरू अहिले गाउँसमाजमा पैदल हिंडेर मत मागिरहेको देखिन्छन् । जसले हामीले नै राज्यलाई तिरेको पैसाले गाडी र घर बनाएका छन् । उनीहरू यतिबेला के एउटा साडी दिएर अथवा मासु च्युरा बाँडेर हामीलाई किन्ने? अहिले आएर त उनीहरू सबैले आफूलाई इमान्दार नै साबित गरिरहेका छन् । तर, के उनीहरूलाई हामीले चिनेका छैनौं?

त्यसैले होसियार । उनीहरूले अघिल्लो निर्वाचनमा पनि हजारौं झुटा शब्दहरू बोलेका थिए । अहिले हामी ती शब्दहरू याद गरौं त ।अहिले फेरी उनीहरू हामीसामु शब्दको मिठास प्रहार गरि झुटा वाचा गरिरहेका छन् । र, त्यति मात्र नभई उनीहरू आफूले आफैंलाई इमान्दार, सच्चा देशभक्त, जनताको सेवक र विकासप्रेमी पनि प्रमाणित गर्न कम्मर कसेर लागेका छन् ।

पैसाको त कुरै नगरौं । जित्नलाई सकेसम्म उडाउँछन् र जितेपछि फेरी त्यही पैसा असुल्न दिनरात एक गरिदिन्छ्न । लुट्न पनि किन नलुटोस त? उनीहरूलाई लुट्ने अधिकार पनि हामीले नै दिएका होइनौं? अतः हामीले एउटा कूरा बुझ्नै पर्छ । हामीलाई नेताले बनाएका होइनन्, हामीले नेतालाइ बनाएका हौं । उनलाई कुर्सी भ्रष्टाचार गरी आरामको जिन्दगी जिउनका लागि दिइएको होईन, हाम्रो काम गर्नका लागि हाम्रै मतद्वारा प्रदान गरिएको हो ।

म फेरी भन्छु । यो समय जातपात छुट्याउने, महिलापुरुष छुट्याउने, पैसापावरको दम्भ देखाउने र फेक पब्लिसिटीबालाका लागि होईन ।अहिले त हामीले हाम्रो र हाम्रा सन्ततिका लागि काम गर्न सक्ने अनुहारको खोजी गर्नुपर्ने आवश्यकता छ । एक पटक सोच्नुस् त..! जो नेता अहिले निर्वाचनपूर्व नै आचारसंहिताको धज्जी उडाउँदै सरकारी नियमनिष्ठा र कानूनलाई लत्याएर प्रचारप्रसारमा करोडौं खर्चिरहेका छन् के उनीहरू निर्वाचित भएपश्चात पहिले जनताको लागि सदनमा आवाज उठाउँछन् कि आफ्नो गोजी भर्छन?

याद रहोस्, जसले आज मासु च्युरा, साडी, नगद र जिन्सी बाँडिरहेका छन् उसले भोलि हाम्रो काम कदापि गर्दैनन् । खाने मुखलाई जुँगाले छेक्दैन । जो राम्रो, हाम्रो र इमान्दार छ उसलाई देखाबा र नौटंकीको आवश्यकता पर्दैन । त्यसैले म गल्ती नेताको मात्रै भन्दिन ।केहि पत्रकारको रूपमा लुकेका नेताका चम्चा पनि छन् जो आफैंमा क्लियर छैन् उ पत्रकार हो या नेता । दुई पैसाका लागि आफूलाई त बेचेकै छन् सँगसँगै पत्रकारिता पेशाकोसमेत धज्जी उडाउनमा कुनै कसर छाडेका छैनन् । निर्लज्ज भएर उम्मेदवारका लागि मतसमेत माग्छन् र आफूलाई पत्रकारको अगुवा पनि भन्छन् ।

म फेरी सबैसँग विनम्र आग्रह गर्छु कि कुन नेता हाम्रो र कुन बेइमान भन्ने कुराको चुनावमा हामी कसैको प्रलोभनमा परेर जानी जानी गल्ती नगरौं । यसपाली हामी सबै मिलि हाम्रो र राम्रो नेता चुनौं । हामी अब बेइमानहरूलाई तह लगाउन पछाडि नहटौं ।

(लेखक नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष हुन्)

तस्बीहरू : विजय दत्त मणिको अनूमति लिएर प्रयोग गरिएका छन् ।