आस्थाको महापर्व छठ मनाइँदै, जनकपुरधामका पोखरी घाटहरु दुल्हीझैं सिंगारिए (फोटोफिचर)

जनकपुरधाम, १३ कार्तिक । आस्थाको महापर्व छठ आज तराई–मधेशमा धुमधामसँग मनाइँदै छ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरू भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदी सहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही वेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरूआत भएको धार्मिक विश्वास छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ ।
छठ पर्वका लागि जनकपुरधामको गंगासागर, धनुष सागर, अंगराज सर, दशरथ तलाउलगायत दर्जनौं पोखरीहरूलाई दुल्हिझैं सिंगारिएको छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो ।
अस्ताउँदो सूर्यलाई अर्घदिन जनकपुरधामका पोखरी एवं तलाउहरुमा बनाइएका घाटमा विहानैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामिण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्ने छन् ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।












तस्बिरहरु : वीरेन्द्र रमण
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


