रौतहट, १२ कार्तिक । प्रहरीले रौतहटको गौरबाट नेपाली नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका–४ टिकुलियाका जयप्रकाश साह रहेको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ठाडामगरले बताए ।

शनिवार दिउँसो गौरस्थित पेट्रोल पम्पमा नक्कली नोट दिएर पेट्रोल खरिद गरिरहेको सूचनाको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको थियो । उनको साथबाट ३ थान नेपाली हजारको नक्कली नोट बरामद गरिएको एसपी ठाडामगरले जानकारी दिए ।

साहलाई नियन्त्रणमा लिएलगतै टिकुलियास्थित उनको घरमा समेत खानतलासी गरिएको थियो । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

साह गौर बजारमा ठेला व्यवसाय गर्दै आएका छन् ।