जनकपुरधाम, ११ कार्तिक । मिथिलाञ्चलको महापर्व छठ जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइन्छ । छठमा नगरभित्रका प्रायः सबै पोखरी तथा तलाउहरु भरिभराउ हुन्छन् । ति पोखरी तथा तलाउहरुलाई यहाँका स्थानीय युवा क्लबहरुले दुल्ही झैं सिंगारेका हुन्छन् । तर, युवा क्लवहरुले पोखरी घाटहरुलाई भने पैसा कमाउने भाँडो बनाएको आरोपसमेत लाग्ने गरेको छ ।

छठको घाटमा गरिएको सरसजावट बापत यहाँका युवा क्लवहरुले लाखौँ रुपैयाँसम्म मनोमानी तरिकाले असुली गरिरहेको आरोप लाग्ने गरेको छ ।

जनकपुरधामको प्रसिद्ध पोखरी गंगासागरमा मात्र ८५० भन्दा बढि घाट छन् । सो पोखरीमा स्थानीय गंगासागर छठ पूजा व्यवस्थापन समिति, बजरंग युवा क्लव, जनक युवा क्लवहरुले व्यवस्थापन गर्दै आइरहेको छ । गंगासागर छठ पूजा व्यवस्थापन समितिले यसवर्ष प्रतिघाट ५५० रुपैयाँ शूल्क तोकेको समितिका अध्यक्षसमेत रहेका तमलोपाका नेता सतिश लाल दासले जानकारी दिए ।

श्रद्धालुले स्वेच्छाले दिने शुल्क मात्रै उठाउने गरेको अर्थ समितिका संयोजकसमेत रहेका लोसपाका नेता रमण सिंहले बताए ।

यता, स्थानीय श्रद्धालुले भने पूजा व्यवस्थापन समितिले चर्को शूल्क उठाएपनि व्यवस्थापनको नाममा भने केही नगरेको आरोप लगाउने गरेका छन् ।

त्यस्तै अरगज्जा पोखरीमा करिव १ हजार १ सय घाट रहेको छ भने धनुष सागर पोखरीमा २ हजारभन्दा बढी घाट रहेको छ । धनुष सागर पोखरीको छठ पूजाको व्यवस्थापन गणेश युवा कमिटी, श्रीराम युवा कमिटीले गर्दै आएको छ ।

गणेश युवा कमिटीले प्रतिघाट २५१ रुपैयाँ शुल्क उठाउँदै आएको छ । छठ पर्वको व्यवस्थापनमा तिनीहरुले पण्डाल, लाइट तथा साउण्डमा मात्र खर्च गर्छन तर छठको घाटबाट उठने शुल्कबाट हुने आम्दानीलाई युवा क्लवहरुले के गर्छन् भन्नेबारे कुनै लेखाजोखा हुँदैन् ।