जनकपुरधाम, ७ कार्तिक । आज लक्ष्मीपूजा मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग तिहार मनाइएको थियो । आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।

आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।

यसैबिच लक्ष्मीपूजाको अवसरमा जनकपुरधाममा बेग्लै रौनक देखिएको छ । बजारका हरेक पसलहरु दुल्हि झैं श्रृंगारिएका छन् ।घरघरमा माता लक्ष्मीको आगमनका लागि रंगोली बनाइएको छ भने यहाँको चहलपहल नै बेग्लै देखिन्छ ।