–ज्योति झा
जनकपुरधाम, ५ कार्तिक । संसारमा सायद यस्तो कुनै मानिस नहोला जसले धनको चाहना राख्दैन । र, झन यो कलयुगमा त सबभन्दा बढि लोकप्रिय, आवश्यक धन नै भइसकेको छ । बल्कि यो भनौं कि अहिले कलयुग नभई हामि अर्थयुगमा छौं । जहाँ धन नभई नहुने अति आवश्यक र महत्वपूर्ण वस्तु भइसकेको छ ।

हुनत हाम्रो मिथिला पर्वतिहारलेनै परिचित छ । र, हरेक पर्वको आफ्नो एउटा बेग्लै विशेषता छ । जस पर्वहरुमध्ये लक्ष्मीपूजाको पनि आफ्नो बेग्लै र खास महत्व छ । किनभने धनकि देवी माता लक्ष्मी हुन् । र, धन सबैलाई चाहिएको छ । धनीदेखि गरिबसम्म हरेक व्यक्ति धन कमाउन दिनरात मिहिनेत गर्छन् । त्यही धनकी देवी हुन् माता लक्ष्मी ।

तर हजुरलाइ थाहा छ, धन दिन्छ कसले ? धन बाँड्ने काम हो भगवान कुबेरको । लक्ष्मीपूजा भन्दा पहिले धनतेरस आउँछ ।  धनतेरसको पूजामा लक्ष्मी, गणेश र कुबेरको पूजा गर्नुको एउटा बेग्लै विशेष महत्व छ ।

धनतेरस भनेको के हो ? नाम नै सुनेर स्पष्ट हुन्छ कि धनलाई तेह्र गुणा बढाउने र धनमा वृद्धि हुने दिन हो धनतेरस । यसलाई अझ स्पष्ट गर्ने हो भने धनको अर्थ समृद्धि र तेरसको अर्थ तेह्र दिन ।

यो पर्व नेपालको तराइमा मात्र नभई भारतमा पनि श्रद्घासँग मनाइन्छ । बरू अब त विदेशमा पनि यसलाई मनाइन्छ र खास गरेर व्यवसायीहरुले त अझ बढी श्रद्धाले मनाउँछन् ।

आजैको दिन समुद्र मन्थन भएको थियो र समुद्रमन्थनका क्रममा धनवन्तरीको उत्पत्ति भएको थियो । र, आजैका दिन धनका देवता कुबेरको जन्मोत्सव कुबेर देवताको जन्मदिन पनि भएकाले यसलाइ बढी महत्वका साथ पर्वको स्वरुपमा मनाइन्छ ।

धनतेरस प्रत्येक वर्ष कात्तिक कृष्णपक्षको त्रयोदशी अथवा कागतिहारका दिन मनाउने प्रचलन छ । धनतेरसकै दिन लक्ष्मीपूजा र माता लक्ष्मीको स्वागतको तयारी आजकै दिनबाट सुरु हुन्छ । माता लक्ष्मीको सानो घरभित्र रंगोलीको पैताला बनाइन्छ । र, पुस्तौँदेखि नै परम्पराअनुसार आजका दिन सन्ध्याकालका बेला यमराजलाई इंगित गरी एउटा दियो बालेर घरको मूल दैलोमा राखिन्छ । र, यो गर्नुको अर्थ हो कि यमराज घरदेखि बाहिर रहोस्, कसैलाइ दुःखकष्ट नपुर्याओस् भनी अनुरोध र पुजा गरिन्छ । यो धार्मिक मान्यताले आममान्छेको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ ।

धनतेरसको यस्तो छ कथा :

हरेक पर्व, व्रतसँग एउटा कथा जोडिएको हुन्छ र धनतेरससँग पनि एउटा कथा जोडिएको छ ।

एकजना हिमालय नाम भएका राजा थिए । उनी आफ्ना छोराको जन्मकुण्डली बनाउन ज्योतिषकहाँ पुगे, ज्योतिषले भने, ‘विवाह गरेको ठीक चौथो दिनमा राजाका छोरालाई सर्पको टोकाइले मृत्यु हुनेछ ।’ समय बित्यो राजाको छोराको विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरा थाहा पाइन्, त्यसपछि आफ्ना श्रीमानलाई यमराजको प्रकोपबाट मुक्त गर्न पतिको कोठाबाहिर घरका सबै गहनाको थुप्रो बनाएर पहाड जस्तै अग्लो चुली बनाइन् र पतिलाइ निन्द्रा नआओस् भनेर गीत, भजन र कथा सुनाउन थालिन् । रात्रीकालमा यमराज सर्पको रुप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले आइपुगे तर गहनाको पहाडलाई तिनले नाघ्न सकेनन् र यमराजलाइ खाली हात फर्कनुपर्यो ।

यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यही मान्यतामा मानिसहरु आफ्नो घरका सदस्यको आयु, आरोग्य र सुखसमृद्धिका निम्ति धन त्रयोदशी अर्थात धनतेरसका दिन आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्छन् ।

हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्ति भन्दा महत्वपूर्ण बस्तुका रुपमा लिइन्छ, त्यसैले पनि धनकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गरिन्छ । आजका दिन सुनचाँदीका सिक्का, भाँडाकुडा, आभूषण किन्ने परम्परा छ । हिजोआज मोटरसाइकल, मोबाइल, कम्प्युटर, साइकल जस्ता बस्तु खरिद गर्न पनि यसै दिनलाई पर्खने चलन छ ।

यस पर्वमा धनी गरिब सबैले आ–आफ्नो क्षमताअनुसार केही न केही किन्छन् । जसको सामथ्र्य छ, उसले त भान्साका पूरा समान नै फेर्छन् र जो गरिब छ उसले एउटा स्टिलका थाल भए पनि किन्छन् । आजका दिन कुचो, नांग्लो लिनुलाई अझ राम्रो मानिन्छ किनभने हाम्रो मिथिलामा मान्यता छ कि, कुचो, नांग्लो माता लक्ष्मी हुन् । र, अहिले त धनिया किन्ने प्रचलन पनि बढिसकेको छ । धनियालाई धनको स्वरूप मानिन्छ । आजको दिन किनेको हरेक वस्तुको लक्ष्मीपूजाको दिन पुजा गर्ने चलन छ । र, यसो गर्नाले धन, वैभवमा बढोत्तरी हुन्छ ।

आजको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन र सम्पन्नताका लागि कुबेरको पूजा गर्ने चलन छ । आजैका दिन धनी र सम्पन्नहरुले मूल्यवान धातुका साथै नयाँ भाँडाकुँडा र गरगहना किन्ने गर्छन् ।

आजका दिन हरेक मानिसले आ–आफ्नो सामर्थ्य अनुकुल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउँछन् ।

बिहानैदेखि जनकपुरधाम बजारका अधिकांश पसलहरुमा मानिसको भीड लागेको देखिएको थियो ।