सर्लाहीमा सहकारी संस्थाका कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ

सर्लाही, ३ कार्तिक । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका–१ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुमध्ये तीनजना भारतीय नागरिकहरु १९ वर्षका र नेपाली नागरिक सहनी ३२ वर्षका छन् । पक्राउ परेकामध्ये धिरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ ।
बुधबार बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियोे ।
आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउण्ड गोली प्रहार गरेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियोे । कार्कीको अहिले काठमाडौंमा उपचार भईरहेको छ ।
घटनालगत्तै खोजतलासमा जुटेको प्रहरीले ४ जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


