पर्सा, २३ असोज । जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पार्टीले टिकट नदिएपछि उनले पर्सा क्षेत्र नम्बर २ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

आगामी मंसिर ४ को निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमको नाम पर्सा–२ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । तर जसपा–एमाले गठबन्धनबाट यो क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

आइतबार प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बेगमले पार्टीले आफूलाई टिकट नदिएपछि जनताको चाहना अनुसार जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।

बेगमले मधेस विरोधी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले मधेससँग गद्दारी गरेको आरोप लगाएकी छन् । बेगमले एमालेसँग गठबन्धन गरेपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।

बेगमले प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति पनि चर्काे आक्रोश पोखिन् । उनले मुख्यमन्त्री राउत प्रदेशको मुख्यमन्त्री नभई आफ्नो निर्वाचन क्षेत्र र आफ्नो पुर्ख्यौली गाउँको मात्र मुख्यमन्त्री बनेको आरोप लगाइन् ।