बारा, २१ असोज । सशस्त्र प्रहरीले बाराबाट २० किलो चरेससहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका–१९ नगवा वस्ने ३० वर्षीय मुकेश श्रीवास्तव, वडा नम्बर–२ छपकैया बस्ने १६ वर्षीय मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका–१ बस्ने ३७ वर्षीय मुस्तान देवान रहेका छन् ।

शुक्रबार बिहान बाराको पचरौता नगरपालिका–७ बेनोलीस्थित सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण आरा मातहत रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेनौलीबाट खटिएको टोलीले उनीहरुलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ ना.१ ह. ६२३४ नम्बरको अटोमा २ वटा ग्यालेनमा २० किलो चरेस लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआजी गणेश ठाडा मगरले जानकारी दिए ।