श्री राम दिग्विजय रथ यात्रा जनकपुरधाममा

जनकपुरधाम, २१ असोज । भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट सुरु भएको श्री राम दिग्विजय रथ यात्रा आज जनकपुरधाम पुगेको छ । भगवान श्रीरामको दिग्विजय रामराज्य रथ यात्रा बुधबार अयोध्याबाट सुरु भएको थियो ।
यो रथ यात्रा भारत र नेपालको मिलाएर २७ वटा राज्य हुँदै ६० दिनमा १५ हजार किलोमिटरको यात्रा तय गरी जन जागरण गर्ने बताइएको छ ।
विश्व हिन्दू परिषद एवं अखिल भारतीय सन्त समितिको सहयोगले शक्ति शान्तानन्द महर्षिको तत्वावधानमा करीब ४० जना अनुयायिद्वारा सुरु गरिएको यस रथ यात्रामा ७ वटा सवारी साधनका साथ भगवान श्रीरामको पादुकाका साथै स्वर्ण रथ पनि सुशोभित छन् ।
शक्ति महर्षिका अनुसार तीन उद्देश्यका साथ यो रथ यात्रा सुरु गरिएको हो । जसमा भारत सरकारसँग इण्डियालाई भारत घोषित गर्नुपर्ने, भारतको शिक्षामा रामायणलाई पनि समावेश गर्नुपर्ने र भारतको असली इतिहास शिक्षामा समावेश गर्नुपर्ने माग गरिएको छ ।

विश्वको कल्याणका लागि जुन प्रकारले अश्वमेघ श्रीराम यज्ञको आयोजना गरिएको थियो । सोही प्रकारले साधुसन्तहरुको सानिध्यमा यो रथ यात्रा निकालिएको हो ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले आज जनकपुरधाम प्रवेश गरेको यस ऐतिहासिक रथ यात्रामा उपस्थित भई यात्रालाई सफल बनाउने सबैमा आभार व्यक्त गरेका छन् ।
यसैबिच रथयात्रामा सहभागी साधुसन्तहरुलाई जनकपुरधाम उपमहानगरपालिका, माँ जानकी जनकपुरधाम यातायात प्रालि, श्री श्री १०८ श्री महावीर मन्दिर, वडा नम्बर–७ को कार्यालयलगायतकाले जनकपुरधाममा भव्य स्वागत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


