अमलेखगन्ज बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत

बारा, २१ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको अमलेखगन्ज सडकखण्डमा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको हो ।
गएराति बारा करैयामाई–२ घर भई हाल चितवन भरतपुर–१२ बस्दै आएकी १६ वर्षीया प्रीतिका चौधरीको नयाँ मेडिकल चितवनमा र पर्सा बीरगंज–१६ नगवाकी ६० वर्षीया मालतीदेवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
मृत्यु हुने अन्य सबैजनाको सनाखत भइसकेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा बाराको कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीया नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कडेँलका छोरा १४ वर्षीय सफल कडेल, पर्सा बीरगंज–१६ का ६५ वर्षीय सोम प्रसाद चौरसिया, सोही ठाउँकी ३६ वर्षीया मन्निदेवी चौरसिया, मकवानपुर हेटौँडा–७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँकी १९ वर्षीया स्वस्तिका श्रेष्ठ, बारा कलैया १० की ३५ वर्षीया नाजलिन खातुन, बारा जितपुरसिमरा–२ का २८ वर्षीय सुरेश बिक रहेका छन् ।
त्यस्तै, मृत्यु हुने अन्यमा बारा कलैया–१० का २५ वर्षीय ईताजत अन्सारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी, चितवन खैरेनी–५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीया अम्बिका कडेँल, जनकपुरधाम–५ का ५० वर्षीय सन्तोष कुमार राय, बारा करैयामाई–२ घर भई हाल जिल्ला चितवन भरतपुर–१२ की १६ वर्षीया प्रीतिका चौधरी, बारा स्वर्ण–७ का ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी–६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर र पर्सा बीरगंज–१६ नगवाकी ६० वर्षीया मालती देवी चौरसिया रहेका प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेको चितवन, हेटौँडा र विरगंजमा विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


