सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक असई भारतमा मृत फेला

सप्तरी, २१ असोज । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक जना असई भारतमा मृत फेला परेका छन् । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव मृत फेला परेका हुन् ।
भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
सिरहाको भगवानपुर–२ का बासिन्दा यादव सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा कार्यरत थिए । असोज १८ गतेदेखि २१ गतेसम्मका लागि विदामा रहेका उनी दशगजा क्षेत्रदेखि तीन किलोमिटर दक्षिण मृत भेटिएका हुन् ।
उनको शवलाई भारतको कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी नरेश सिंहले जानकारी दिए ।
उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


