सिरहा, १९ असोज । सिरहामा जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले सामुहिक राजीनामा दिएका हुन् ।

संघीय परिषद् सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञान कुमार सिंह, वरिष्ठ उपाध्यक्ष बिनोद राई र वरिष्ठ राजनीतिज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् ।

पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भइरहेकोले सामूहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिषद् सदस्य रामचलितर साहले बताए ।

जसपाका नेताहरूले पार्टीलाई आफ्नै विरासत सम्झिने गरेकोले आफुहरु बाध्य भएर राजीनामा गर्नुपरेको उनले बताए । विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलाएपनि बिकास निर्माणको काममा सिरहा शुन्य रहेको उनले दुःख व्यक्त गरे ।

जसपा पार्टी तानाशाही पार्टी रहेकोले हामी लगायत हजारौंको संख्यामा जिल्ला भरिका १७ वटै स्थानीय तहका कार्यकर्ताहरूले पार्टी परित्याग गरेको उनले बताए ।

सामूहिक राजीनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ ।