राजदेवीमा राति ८:४१ बजेदेखि बलिप्रदान जारी, प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान हुँदै

जनकपुरधाम, १८ असोज । बडादशैंको आठौं दिन आज जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम जारी रहेको छ ।
माता राजदेवीको मन्दिरमा निशा पूजा सम्पन्न भएलगत्तै राति ८ बजेर ४१ मिनेटदेखि बलिप्रदान सुरु भएको हो ।
बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु दिउँसैदेखि लाइनमा लागेका छन् । बलिप्रदानको कार्यक्रम बिहान करिव ३ बजेसम्म चल्ने स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।
बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको छ । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको अध्यक्ष साहले बताए । एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भइरहेको छ ।
उनले बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।
बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको उनले बताए । यसपालि १४ हजार भन्दा बढि रसिद काटिसकिएकोले बोकाबलीको संख्या १५ हजार भन्दा बढि रहने अनुमान गरिएको छ ।
यता, सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै दशैंमा जनकपुरधाम नगरभित्र मात्र करिव १ हजार ५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक वसन्त रजौरेले जानकारी दिए ।
उनले जिल्ला प्रहरी कार्यालयका १ हजार भन्दा बढि, दंगा प्रहरी गणका २ सय, सशस्त्र प्रहरीको टोली २ सय र सादा पोशाकमा पनि करिव १ सयको संख्यामा सुरक्षाकर्मी २४ सौं घण्टा परिचालित गरिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


