जनकपुरधाम, १७ असोज । महाअष्टमीका दिन जनकपुरधामस्थित विभिन्न शक्तिपीठहरुमा प्रसाद चढाउनका लागि करिव ३५ हजार किलो लड्डु बिक्री भएको अनुमान गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सो हाराहारीमा लड्डु बिक्री भई करिव २ करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘बजारमा लड्डुको फरक–फरक भेराइटी थियो । त्यसमा रिफाइन घ्यू वाला लड्डू, शुद्ध घ्यू वाला लड्डू, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डुलगायतकाहरु थिए । यसबाहेक खीर कदम, केसर संदेश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भयो । यस हिसाबले हेर्ने हो भने करिव २ करोडको आर्थिक कारोवार भएको हुनसक्छ ।’

शहरभित्र करिव २ सयभन्दा बढि मिठाई पसलहरु छन् । २ करोडको मिठाई विक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरीद गरेको बताए ।

बजारमा आइतबार साँझदेखि नै मिठाई पसल सञ्चालकहरु लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरु पनि अत्यधिक मात्रामा बिक्री भएको देखिएको छ । बजारमा सानादेखि ठुला मिठाई पसल सञ्चालन गर्ने पसलेहरुले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्नसक्ने देखिएको छ ।

सस्तो बजारमा ६ करोडको कारोबार

घटस्थापनाको दिनदेखि जनकपुरधामस्थित गोपाल धर्मशालामा सञ्चालनमा रहेको सस्तो बजारमा करिव ६ करोडको कारोवार भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले घटस्थापनादेखि आज (महाअष्टमी) सम्म करिव ६ करोडको कारोवार भएको जानकारी दिए ।

गोपाल धर्मशालाको भित्री परिसरमा ३४ र बाहिरी परिसरमा ६० गरी कूल ९४ वटा स्टलहरु सञ्चालनमा रहेका छन् ।

चाड पर्व लक्षित लगाइएको बजारमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्नसहितका दैनिक उपभोग्य सामानहरू बिक्री भएको अध्यक्ष महासेठले बताए ।

सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु अगरबत्ती, साबुन, सर्फ, चाउचाउ, बिस्कुट, लत्ताकपडालगायतकाहरु बजारभन्दा सस्तो दरमा उपलब्ध हुँदै आएको छ ।

सस्तो बजार सोमबार समापन हुँदैछ ।