राजदेवी मन्दिरमा खोइँछ भराई जारी

जनकपुरधाम, १६ असोज । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा आइतबार बिहानदेखि खोइँछ भराई जारी रहेको छ ।
राजदेवी मन्दिरमा आज बिहानैदेखि खोइँछ भराई सुरु भएको स्थानीय महावीर युवा कमिटीले जनाएको छ । सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गर्ने गर्दछन् ।
यस्तै प्रसाद (लड्डु) आज मध्यरातिदेखि चढाउन सुरु भई भोली दिउँसोसम्म समाप्त हुने जनाइएको छ । बली प्रदान कार्यक्रमको तयारीको लागि सोमबार अष्ठमी तिथिको १२ बजे दिउँसोसम्म मात्र मन्दिरमा प्रसाद चढाउने कार्यक्रम राखिने भएको छ ।
राजदेवीमा बुधबार दशमीको दिन महाप्रसाद कार्यक्रम राख्दै आएको छ । यस्तै दशमी अर्थात विजयादशमीको दिन रावण वध कार्यक्रमको आयोजना हुँदै आएको छ ।
यसपाली पनि बुधबार गंगासागर र धनुषसागर पोखरीको डिलमा भव्य तवरले रावण बध कार्यक्रम आयोजना हुने महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।
गुठी संस्थान जनकपुरले प्रत्येक बोकाको टाउको वापत लिँदै आएको रकम यसपाली प्रति टाउको २०० रुपैयाँ तोकेको छ । संस्थानले खसी बोकाको रसिद काटने कार्य सुरु गरेको छ भने रसिद नभएकाहरुले लाईनमै रसिद कटाएर बोकाबली गराउन सक्ने सुविधा मिलाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


