जनकपुरधाम, १५ असोज । सर्लाहीमा दुई पक्षबिच झडप हुँदा केही व्यक्ति घाइते भएका छन् । जिल्लाको हरिवन नगरपालिका–११ स्थित पाडा बजारमा कौडी उठाउने विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले हरिवन नगरपालिकाले माछा बजार ठेक्का लगाउँदा कौडी उठाउने विषयलाई लिएर विवाद भएको बताए ।

झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको डीएसपी यादवले जानकारी दिए । उनका अनुसार सो स्थानमा अहिलेपनि प्रहरी परिचालित रहेका छन् ।

अहिले अवस्था सामान्य भएको र घाइतेको यकित तथ्यांक अहिलेसम्म नआएको प्रहरीले जनाएको छ । झडपमा संलग्न एक जनालाई नियन्त्रणमा समेत लिइएको डीएसपी यादवले बताए ।