दर्ताबिना सञ्चालित नैना अस्पतालले फेरि लियो एक बिरामीको ज्यान

जनकपुरधाम, १५ असोज । जनकपुरधामको रामानन्दचोकस्थित नैना हस्पिटलको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगर बस्ने दिलिप मण्डलकी २८ वर्षीया श्रीमति विद्याकुमारी मण्डलको मृत्यु भएको हो ।
विद्यालाई प्रशव पीडा हुँदा परिवारजनले उपचारका लागि भदौ २३ गते नैना हस्पिटलमा ल्याएका थिए । नैना हस्पिटलमा २४ गते उनको नर्मल डेलेभरि भयो । शिशु जन्मिएपछि आमाको पाठेघरबाट अत्यधिक रक्तश्राव हुन लाग्यो । डेलेभरिपश्चात् बिरामीको पाठेघर फाटिसकेको थियो ।

उनलाई परिवारजनले रगतको व्यवस्था गरी ३१ पोका रगतसमेत चढाइयो । तर पनि उनी गम्भीर अवस्थामा रहेको भन्दै परिवारको सहमतिबिना नै चिकित्सकले उनको पाठेघर हटाइदिए । सोही क्रममा पाठेघरको नली काटियो । त्यसपछि विद्याको अवस्था झन बिग्रिदै गयो ।
मृतकका पति दिलिपले भने, ‘नर्मल डिलेभरिपश्चात् यदि मेरो श्रीमतिको पाठेघरबाट अत्यधिक रक्तश्राव भईरहेको थियो भने अस्पतालले हामीलाई जानकारी दिनुपर्दथ्यो । हामी त्यतिबेला नै बिरामीलाई बाहिर लगथ्यौं । तर, अचानक अवस्था जटिल बनिसकेपछि अस्पतालले हामीलाई जानकारी गरायो ।’
‘डाक्टरलाई बिरामीको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ दिलिपले भने, ‘तर, अचानक अवस्था बिग्रेपछि हामी २५ गते बिरामीलाई लिएर हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल पुग्यौं ।’
मेडिसिटी अस्पतालमा २२/२३ दिनसम्म उपचार गराएपनि अन्त्यमा शनिबार बिहान त्यहाँको चिकित्सकले जनकपुरकै हस्पिटलले बिरामीको अवस्था बिगारेकोले त्यहिँ लगेर उपचार गराउन सुझाव दिएको दिलिपले बताए ।

शनिबार बिहान फेरि बिरामीलाई जनकपुरधाम ल्याएर नैना हस्पिटलमै भर्ना गरिएको थियो । तर, बिरामीको अन्तिम अवस्थामा पनि यस अस्पतालका चिकित्सकले उनलाई बचाउने कुनै प्रयास नगरेको दिलिपको दुःखेसो छ । उनले यहाँ आएपछि आफ्नो श्रीमतिको मृत्यु भएको बताए ।
मेडिसिटीमा ३२ लाख रुपैयाँ खर्च भएको उनले सुनाए । उनले आफ्नो जग्गा बन्धकी राखेर सो पैसा ऋण लिएकोसमेत दुःखेसो सुनाए ।
घटना सम्बन्धमा अस्पतालले भने सकेसम्म बिरामीलाई बचाउने सम्पूर्ण प्रयास गरेपनि बचाउन नसकिएको र काठमाडौंमा उपचाररत् रहेको बेला मानवताको नाताले दुई लाख रुपैयाँ सहयोगसमेत गरेको जनाएको छ ।
यता, अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवारजनले बिहानैदेखि नैना हस्पिटलको अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरी र मृतकका परिवारजनबिच सामान्य झडपसमेत भएको छ ।

यसअघि गत भदौ १६ गते पनि नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्मिएको दोस्रो दिनमै मृत्यु भएको थियो ।सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रवीन्द्र साहकी पत्नी चञ्चला देवीले जन्म दिएको शिशुको अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।
दर्ताबिना सञ्चालित नैना अस्पताल
स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको हुनुपर्दछ ।
२५ शैय्यासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र २५ शैय्यादेखि माथिका अस्पतालहरू सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ । तर, जनकपुरधामस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटल प्रा.लि। दर्ताबिना नै सञ्चालनमा रहेको छ । ५० शैय्याको यो अस्पताल विगत १६ महिनादेखि दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको हो ।
दर्ताबिना नै सञ्चालित यस अस्पतालले केही बिरामीहरुलाई पनि मृत्युको मुखमा पुर्याइसकेको छ । तर, सरकोकारवाला निकायले अझै यस अस्पतालमाथि कुनै कारबाही गरेको छैन । नैना हस्पिटल सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत सञ्चालित छ ।

यो अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलिरहेको छ । कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, यस हस्पिटलले स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन ।
अस्पतालको दर्ताको बारेमा मधेस प्रदेशको सामाजिक विकास मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई कुनै जानकारी छैन ।निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनै पनि कागजात आफू कहाँ आएको छैन, अस्पताल सञ्चालन बारे हामीलाई कुनै जानकारी छैन ।’
यो हस्पिटल सामान्य भवनमा चलिरहेको छ, जुन मापदण्डविपरीत हो । कुनै पनि अस्पतालले सेवा सञ्चालन गर्दा अस्पताल रहने स्थान धुँवाधुलो, ध्वनी, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्नेमा यस अस्पतालले त्यस्तो मापदण्डको कुनै पालना नै गरेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


