जनकपुरधाम, १५ असोज । जनकपुरधाममा प्राविधिक शिक्षाका लागि समुदायमा आधारित निजिस्तरको कलेज सञ्चालनमा ल्याइएको छ ।

पुर्वाञ्चल युनिर्भसिटीबाट सम्बन्धन प्राप्त जनकपुर कम्युनिटी कलेजले स्नातक तहको प्राविधिक संकायको बीआईटी अध्यापनबाट आफ्नो कक्षा शुरूवात गर्न लागेको हो ।

एक पत्रकार सम्मेलनको आयोजना गरी संचालक सदस्यहरूले कलेजको विशेषता तथा समुदाय स्तरमा कसरी काम गर्नेबारे जानकारी गराएका थिए ।

सो कलेजले बीआईटीतर्फ पहिलो वर्षमा कोटा अनुसार ४८ जना विद्यार्थी भर्ना लिने छन् । त्यसमध्ये ५ जनालाई २ लाख रूपैयाँ इन्ट्रास रैकिंङको आधारमा स्कलरशीपको व्यवस्था गरिएको संचालक सदस्य आशिष झाले जानकारी दिए ।

उनले भने, ‘बीआईटी कोर्षको पूर्ण प्याकेजको शुल्क हाम्रो कलेजले विद्यार्थीले सहुलियत दरमा पढन पाओस् भन्ने उद्देश्यले मात्र ३ लाख ५३ हजार रूपैयाँ तोकेको छ जुन काठमाडौं र भारतभन्दा धेरै कम छ । यही कोर्षका लागि काठमाडौंमा ५ लाखभन्दा बढी रकम तिर्नुपर्छ तर हामीले सबैले पढन पाउने उद्देश्य लिएर त्यसमा निकै कमी गरेका छौं ।’

अर्का संचालक सदस्य अमित ठाकुरले आफूहरुले प्रत्येक पालिकासँग विद्यार्थीहरूको स्कलरशीपका लागि समन्वय गर्ने जानकारी दिए ।उनले यसका बावजूद अध्ययनरत अवस्थामा विद्यार्थीहरूलाई पालिकाहरूमा प्राविधिक क्षेत्रमा इन्र्टनशीप र योग्यलाई जागिरको व्यवस्था मिलाउनेसमेत जानकारी दिए ।

अध्ययनपश्चात् बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले यस कलेजले परम्परागत भन्दा पनि चलनचल्तीमा रहेको र सदैव प्रयोगमा रहन सक्ने आधुनिक स्कीलवेश कोर्ष डिजाईन गरेर अध्यापन गराउने बताए ।

पत्रकार सम्मेलनमा संचालक सदस्य ज्योत्सना कर्ण र डा. सोहन साहकोसमेत उपस्थिति रहेको थियो ।