महोत्तरी, १४ असोज । महोत्तरीमा आलु गोदामबाट लाखौँको चोरी भएको छ ।

जिल्लाको गौशाला नगरपालिका बजारमा रामबाबु साहले सञ्चालन गरेको साह ट्रेडर्सबाट लाखौंको चोरी भएको हो ।

पसल बन्द रहेको कोठाको माथिल्लो तल्लामा सुतिरहेको समयमा चोरले पसलबाट नगद १ लाख २५ हजार रुपैयाँ चोरी गरेको पीडितलाई उद्धृत गर्दै महोत्तरी प्रहरीले जनाएको छ ।

चोरले मोटरसाइकलको ब्लुबुक, नागरिकता, बैंकको चेकसमेत चोरी गरेर लगेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।