जनकपुरधाम, १३ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नवौं राष्ट्रिय खेलकुद २०७९ को ट्रफीलाई जनकपुरधाममा अनावरण गरेका छन् ।

बिहीबार जानकी मन्दिरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सो ट्रफीको अनावरण गरेका हुन् ।

मुख्यमन्त्री राउतले राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरुको जीवन ापनको व्यवस्था राज्यको दायित्व रहेको उल्लेख गरे । उनले मधेस सरकार स्थापनाकालदेखी खेलाडीहरुको लागी जीवनयापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखेपनि विविध कारणहरुले गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अगामी दिनमा यसका लागि आफू सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो समयमा युवाहरुमा भयावह बन्दै गएको दुव्र्यसनको समस्याबाट प्रदेशलाई मुक्त गराउन समेत खेलकुदमाथि जोड दिनु आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले खेलकुदको विकासका लागि आवश्यक पूर्वाधारदेखी खेलाडीहरुको व्यवस्थापनमा समेत प्रदेश सरकार अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे ।

महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलाडी दिपक विष्ट, क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे, सरोज मिश्र सहितकाले सम्बोधन गरेका थिए ।

सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो । यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले यस पटक सबै प्रदेशका राजधानी, महानगरलगायतका ठाउँमा ट्रफी सार्वजनिक गरेको छ । खेलका कार्यक्रम असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछन् । शुभारम्भ र समापन पोखरा रंगशालामा हुनेछ । उद्घाटनमा राष्ट्रपति र समापनमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ ।

खेलमा ३६ वटा प्रतियोगिता हुनेछन् । खेलमा प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश (एच), प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट सहभागिता हुनेछ । त्यसैगरी नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब र एपीएफ क्लबले विभागीय टोलीका रुपमा खेल्नेछन् ।

ट्रफी टुरको क्रिकेटका पूर्व कप्तान पारस खड्का, ओलम्पियन दीपक श्रेष्ठ, महिला भलिबल खेलका कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई छन् ।