जनकपुरधाम, ११ असोज । धनुषा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-६ मुसहरी टोल बस्ने रेविया सदा रहेका छन् ।

रेवियाले ३५ वर्षीया श्रीमती आशा देवी सदालाई कुटपिट गरी हत्या गरेको कुरा जानकारी हुनासाथ तत्कालै खटेको अनुसन्धान टोलीले उनलाई मुसहरीटोलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

रेवियाले मादक पदार्थ सेवन गरि ढुंगाको चिप्लौटाले प्रहार गरी श्रीमती आशा देवीको हत्या गरेको कुरा स्वीकार गरेको डीएसपी क्षेत्रीले बताए ।

पक्राउ परेका रेवियाको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको ढुंगाको सिलौटो (चिप्लौटा) र बियरको बोतलसमेत बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

उनीमाथि ज्यान सम्बन्धि कसुरमा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिएका छन् ।