जनकपुरधाम, ११ असोज । दशैंको शुरुवातसँगै जनकपुरधामका शक्तिपीठहरुलाई दुलहीझैं सिँगारिएको छ । यहाँ विभिन्न शक्तिपीठहरुमा भव्य आकर्षक स्वागतद्वार एवम् पण्डालहरु बनाइएका छन् ।

राजा जनककी कुलदेवी माता राजदेवीको मन्दिरमा सबैभन्दा बढी आकर्षक सजावट गरिएको छ भने बौद्धिमाई, अमरखाना माई, पिडरियामाई, फुलेश्वरी माई, सोनासति मन्दिर, दक्षिणकाली मन्दिरलगायतका अन्य दर्जनौं शक्तिपीठहरुलाई पनि झकिझकाउ बनाइएको छ ।

त्यस्तै, रामानन्द चोक, विद्यापति चोक, भ्रमरपुरा चोक सहितका स्थानहरुमा दुर्गाको भव्य प्रतिमाहरु पनि बनाइएका छन् ।
जनकपुरधामका स्थानीय युवा क्लबहरूको आयोजनामा हुने गरेको दुर्गा पूजालाई आकर्षक र भव्य बनाउन हरसम्भव प्रयास गरेको पाइन्छ ।

महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले प्रत्येक वर्ष झैं यसवर्ष पनि राजदेवी मन्दिरमा आकर्षक सरसजावट गरिएको बताए । उनले यस सरसजावटका लागि २० लाख रुपैयाँ भन्दा बढी खर्च भएको जानकारी दिए ।

दशैंको शुरुवातसँगै जनकपुरधामका शक्तिपीठहरुमा श्रद्धालुभक्तजनहरुको घुँईचो देखिएको छ भने बजारमासमेत भिडभाड बढेको छ ।

अहिले जनकपुरधाम दशैंमय बनेको छ ।

२० तस्बिरमा हेरौं जनकपुरधाममा दशैँको रौनक :