जनकपुरधाम, ६ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया बिहीबार समाप्त भएको छ ।

गत भदौ ३० गतेदेखि गरिएको दरखास्ता आह्वानको समयसिमा बिहीबार समाप्त भएको हो ।

यसैबिच मधेस प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा ६६ हजार ८८४ जनाले फाराम भरेका छन् । जसमध्ये ५५ हजार ५७ पुरुष र ११ हजार ८२७ महिला छन् ।

सबभन्दा बढी बारा जिल्लामा ८ हजार ९३९ पुरुष र २ हजार ४६६ महिला गरी कूल ११ हजार ४०५ जनाले फाराम भरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

त्यस्तै, सप्तरीमा ७ हजार ३३७ पुरुष र १ हजार ६२३ महिला गरी जम्मा ८ हजार ९६०, सिरहामा ५ हजार ५२० पुरुष र १ हजार २९९ महिला गरी कुल ६ हजार ८१९, धनुषामा ६ हजार ७०९ पुरुष र १ हजार १२५ महिला गरी जम्मा ७ हजार ८३४ जनाले फाराम भरेका छन् ।

उता, रौतहटमा ७ हजार ४२० पुरुष र १ हजार १६३ महिला गरी जम्मा ८ हजार ५८३, महोत्तरीमा ५ हजार ९६९ पुरुष र १ हजार ३३३ महिला गरी कूल ७ हजार ३०२, सर्लाहीमा ७ हजार ९३ पुरुष र १ हजार ५७० महिला गरी जम्मा ८ हजार ६६३ र पर्सामा ६ हजार ७० पुरुष तथा १ हजार २४८ महिला गरी जम्मा ७ हजार ३१८ जनाले फाराम भरेको प्रवक्ता तिम्सिनाले बताए ।