मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान : रजिष्ट्रार डा. यादवलाई कामकाज नगर्न उच्च अदालत जनकपुरको अल्पकालिन अन्तरिम आदेश

जनकपुरधाम, ६ असोज । उच्च अदालत जनकपुरले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद कुमार यादवलाई कामकाज नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत जनकपुरका न्यायाधिश रामेश्वर रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अन्तरिम आदेश जारी हुने सम्बन्धमा दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म डा. यादवलाई रजिष्ट्रारको हैसियतमा कामकाज नगर्न अल्पकालिन अन्तरिम आदेश दिइएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरको कार्यालय समेतलाई विपक्षी बनाई जनकपुरधाम बस्ने देवानन्द झाले डा. यादवको नियुक्ति अवैध रहेको दाबी गर्दै पद खारेजीको मागसहित उच्च अदालत जनकपुरमा बुधबार निवेदन दिएका थिए ।
प्रस्तुत निवेदनसहित मिसिल संलग्न कागजात अध्ययन गरी निवेदक तर्फका वरिष्ठ अधिवक्तात्रय नागेन्द्र लाभ कर्ण, देवेन्द्र ठाकुर निराल र श्याम कुमार मिश्रले बहस गरेका थिए ।
निवेदकले अन्तरिम आदेशको समेत माग गरेकोले सो सम्बन्धमा दुबै पक्षको छलफलबाट अन्तरिम आदेश जारी हुने÷नहुने सम्बन्धमा निष्कर्षमा पुग्न उचित हुने भएकोले सो सम्बन्धी छलफलका लागि २०७९ असोज २७ गतेको समय दिइएको छ ।
साथै अन्तरिम आदेश जारी हुने सम्बन्धमा दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म विपक्षी डा. विनोद कुमार यादवलाई रजिष्ट्रारको हैसियतमा काम गर्न नदिनु/नलगाउन भनी विपक्षी मध्ये मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा उपकुलपति रामकेवल साहको नाममा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले जानकारी दिए ।
यस्तो छ उच्च अदालत जनकपुरको अल्पकालिन अन्तरिम आदेश :

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


