धनगढी, ३ असोज । कैलालीको धनगढीमा अनसनरत डा. गोविन्द केसीको मुटुको धडकनमा गडबडी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीको पेट दुख्ने, दिसा कालो भएको, धेरै कमजोरी, टाउको दुख्ने, रिङटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांसपेशी दुख्ने, बाउँडिने र सुक्दै गएको, रक्तचाप घट्दै गएको, श्वासप्रश्वास दर बढ्दै गएको, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको, तौल घट्दै गएको जनाएको हो ।

डा. केसीको पेटमा अल्सर भई आन्तरिक रक्तस्राव भएको, पोषण तत्त्वहरू र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको जनाइएको छ । रक्तस्रावमा गडबडी भई अङ्ग र प्रणाली खराब हुनसक्ने वा ज्यान जोखिममा पर्न सक्ने सम्भावित जटिलता देखिएको विज्ञप्तिमा उल्लेख छ । अस्पतालले थप जोखिम हुनसक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारका लागि बहु विशेषज्ञ भएको विशिष्टीकृत सुविधा सम्पन्न अस्पतालमा रेफरका लागि चिकित्सकले सल्लाह दिएका छन् ।

विभिन्न ७ बुँदै माग राख्दै सत्याग्रही केसीले सोमबारदेखि धनगढी उपमहानगरपालिका–१ एलएन चौकस्थित कृष्ण मन्दिरको धर्मशालामा आफ्नो २० औँ सत्याग्रह थालेका थिए । तर, तेस्रो दिनबाट स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।