जनकपुरधाम, २ असोज । आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

दिवसको अवसर पारेर मधेश प्रदेश प्रहरी कार्यालयले आइतबार जनकपुरधाममा जनचेतनामूलक र्याली तथा अन्य कार्यक्रमको आयोजना गरेको हो ।

संघीय प्रहरी कार्यालयबाट झाँकी र प्रहरी ब्याण्ड सहितको जनचेतनामूलक र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

कार्यक्रममा सहभागीहरुले सर्वसाधारणमा बढेको मानसिक तनावका कारण आत्महत्या गर्ने क्रम बढेकाले तनाव कम गर्ने वातावरणको निर्माण घर परिवारवाट हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले अहिले घर परिवारदेखि विद्यालय हँुदै कलेज तथा कलेजपछि रोजगारीका कारणले यूवाहरुमा आत्महत्याको क्रम बढेको बताए । उनले मानसिक तनाव कम गर्नका लागि नैतिक शिक्षा तथा ध्यान र योगमा विषेश ध्यान दिन आवश्यक भएको बताए ।

उनले अनावश्यक रुपमा सामाजिक सञ्जालको दुरुपयोग बढेको र यूवाहरुमा आकांक्षा पनि अत्यधिक मात्रामा बढेकाले आकांक्ष पुरा हुन नसकेपछि आत्महत्या गर्ने क्रम बढेको बताए ।

यूवाहरुमा नैतिक शिक्षाको अभाव रहेको र महिलाहरुमा पारिवारिक तथा अन्य प्रकारको हिंसा भएका कारणले पनि आत्महत्याको क्रममा बृद्धि भएको बताउँदै उनले यसमा कमी ल्याउनका लागि सवै पक्षले ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आत्महत्या गर्ने क्रममा कमी ल्याउन तथा रोक्नका लागि हरेक व्यक्तिले सकारात्मक भूमिका खेल्न आवश्यक भएको बताए ।

कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महाउपरीक्षक मसाउद आलम खानले आत्महत्याको क्रममा कमी ल्याउनका लागि घर परिवारवाट नै सकारात्मक प्रयास गर्न आवश्यक भएको बताए ।