–ज्योति झा
जनकपुरधाम, १ असोज । तराई क्षेत्रमा जितिया पर्व सुरु भएको छ । तराईमा यस्ता धेरै पर्व छन्, जसको आ–आफ्नै विशेषता र महत्व छ । त्यस्तै पर्व मध्ये एक हो जितिया । यसलाई तराईको महान पर्व पनि भनिन्छ । यो पर्व तराईवासीहरुको लागि धेरै महत्वपूर्ण र बिशेष छ । छठ जस्तै जितिया पर्वलाई पनि तराईवासीहरुले श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन् ।

जितीया पर्व पनि छठ जस्तै तीन दिनसम्म चल्छ । जसमा पहिलो दिन चोखो भएर विभिन्न मिष्ठान परिकार खाईन्छ । यस्तै दोस्रो दिन महिलाहरु निराहार व्रत बस्छन् र तेस्रो दिन व्रतको अन्त्य हुन्छ । व्रत खास गरेर तराई, मिथिला, भारतको बिहार र उत्तर प्रदेशको केही ठाउँहरुमा पनि श्रद्धापूर्वक मनाईन्छ । आश्विन कृष्णअष्ठमीमा आफ्ना सन्तानको मङ्गल कामना र लामो आयुको लागि महिलाहरुले जितियामा व्रत बस्ने गर्छन् । व्रतको पहिलो दिन नदी, पोखरीमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर लगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहन भगवानलाई चढाउने गर्दछन् ।

जितीयाको पहिलो दिन माछा र कोदोको रोटी खाने परम्परा छ । राती तिर ओटघन पनि गरिन्छ । ओटघनमा चिउरा, दहि, केरा, अम्मट खाइन्छ । यस्तो परिकार खानाले आयु बढछ् भन्ने धार्मिक मान्यता छ । ओटघन गरेपछि मुलगेटमा बसेर पानी पिउँदै ‘हे ओटघन महाराज ओटघनिया रखिह’ भन्ने प्रचलन छ । व्रतको दोस्रो दिनलाइ खर जितिया भनिन्छ र यो व्रतको मुख्य दिन पनि हो ।

दोस्रो दिन व्रतालुहरु २४ घण्टा लामो निराहार उपवास बस्ने गर्छन् । व्रत लिएका महिलाहरुले थुक पनि निल्न नहुने धार्मिक मान्यता छ ।जितवाहनको पुजा गर्नलाई धुप दिप, चामल, फुल, चन्दन लिएर पुजा गरिन्छ सँगै माटो अथवा गाईको गोबरले चिल वा स्यालको प्रतिमा बनाइन्छ । गोबरबाट बनाईएको प्रतिमाको टाउकोमा रातो सिन्दुरको टीका लगाईन्छ ।

पुजा समाप्त भएपछि जिवित पुत्रिका व्रतको कथा सुन्नुपर्छ । यसो गर्नाले पुत्र भएको महिलाको पुत्रको लामो आयु हुने र नभएकोलाई पुत्र रत्नको प्राप्ति भई सुख समृद्धि प्राप्त हुने विश्वास छ । जितियाको सबैभन्दा मुख्य काम डाली भर्नु हो । डाली भर्नलाइ काँक्रो, नरिवल, बाँसको पात, जियल पात, सरिफाको पात, आखकर, जनै, सुपारी डालीमा राखिन्छ । यसले पुत्रको आयु बढछ । व्रतको तेस्रो दिननै अन्तिम दिन हो । यो दिन ब्राम्हणलाई दानदक्षिणा वा भेटी दान गरेपछि खाना खाने गरिन्छ । व्रतपछि अरु परिकार खान मिल्ने भएता पनि बिशेषतः भात, नैनिको साग र कोदोको रोटीलाई सबभन्दा पहिले मुखमा लिने परम्परा छ ।