म्यादी प्रहरी : मधेस प्रदेशमा पहिलो दिन ८ हजार ४१३ जनाले भरे फाराम

जनकपुरधाम, ३० भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै मधेस प्रदेशका जिल्लाहरूमा फाराम भर्नेहरूको भिड लागेको छ ।
प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा पहिलो दिननै युवायुवतीदेखि कपाल फुलेका, तर ५४ वर्ष ननाघेकाहरूको घुइँचो लागेको देखिएको थियो ।
म्यादी प्रहरीमा फाराम भर्ने पहिलो दिनमै प्रदेशका ८ वटै जिल्लामा ८ हजार ४१३ जनाले फाराम भरेका छन् । जसमध्ये ६ हजार ११६ पुरुष र २ हजार २९७ महिला रहेका छन् ।
बिहीबार पहिलो दिन सबभन्दा बढि सप्तरी जिल्लामा १ हहजार १६८ पुरुष र ४३५ महिला गरी कूल १ हजार ६०३ जनाले फाराम भरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
त्यस्तै, सर्लाहीमा १ हजार ६३ पुरुष र ३५१ महिला गरी जम्मा १ हजार ४२२, सिरहामा ७१९ पुरुष र ३७५ महिला गरी कूल १ हजार ९४, धनुषामा ८२२ पुरुष र २६२ महिला गरी जम्मा १ हजार ८४ जनाले फाराम भरेका छन् ।
उता, रौतहटमा ८७० पुरुष र १३६ महिला गरी जम्मा १ हजार ६, महोत्तरीमा ५२५ पुरुष र २६० महिला गरी कूल ७८५, बारामा ४८६ पुरुष र २४१ महिला गरी जम्मा ७२७ र पर्सामा ४६३ पुरुष तथा २२९ महिला गरी जम्मा ६९२ जनाले फाराम भरेका हुन् ।
इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराइएको छ ।
म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सक्ने छन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


