जनकपुरधाम, २९ भदौ । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत धनुषाको निर्णयको विरुद्धमा उच्च अदालतमा मुद्दाको सुनुवाइ बुधबारबाट सुरु भएको हो ।

घटनाका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री संजय साहले उच्च अदालतमा जिल्ला अदालतको फैसलाविरुद्ध मुद्दा गरेका थिए ।

कानुन व्यवसायी श्याम कुमार मिश्रले बुधबारबाट उच्च अदालत जनकपुरमा मुद्दाको सुनुवाइ सुरु भएको जानकारी दिएका छन् । उनले सो मुद्दाको सुनुवाइ सोमबारसम्म हुने बताए ।

पूर्वराज्यमन्त्री साहलाई सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको थियो ।

सिंघानिया हत्या काण्डमा प्रमुख योजनाकारको रुपमा साहलाई बनाइएको थियो । साह अहिले काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

जनकपुर टुडे सञ्चार समुहका संस्थापक रहेका सिंघानियाको २०६६ साल फागुन १७ गते होलीका दिन साँझ गोली हानी शिवचोकमा हत्या गरिएको थियो ।

साह धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट संविधान सभाको दुबै निर्वाचनमा विजयी भएका थिए ।

पहिलो पटकको चुनाव उनले मधेशी जनअधिकार फोरमबाट र दोस्रो चुनाव सदभावना पार्टीबाट जितेका थिए । पहिलो पटक उनी विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री बनेका थिए । साह राज्यमन्त्री रहेकै बेला सिंघानियाको हत्या भएको थियो ।

साह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए । धनुषाका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तम सुवेदीले भारतको नयाँदिल्लीबाट उनलाई पक्राउ गरी ल्याएका थिए ।