जनकपुरधाम, २९ भदौ । देशमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, ट्राफिक प्रहरीलगायतका कुरा गर्दा यिनीहरू पनि एक हिसाबले राष्ट्रको अभिभावकजस्तै हुन् । समयसमयमा सर्वसाधारणलाई मर्का पर्दा यिनीहरू त्यस्ता व्यक्ति हुन् जसले आफ्नो ज्यान दाउमा लगाएर पनि हामीलाई सहयोग गरिरहेका हुन्छन् ।

देशका शहरहरूलाई कडीकडाउ गरेर चुस्त बनाउनु ट्राफिक प्रहरीको दायित्व हो । ट्राफिक प्रहरीको काम सधंै सवारीका लागि हात हल्लाई राख्ने मात्र होइन, कर र जरीवाना मात्र लिएर जनतालाई त्रास दिनुमात्र होइन, ट्राफिक प्रहरीले गर्नुपर्ने तथा सघाउ पुर्याउनुपर्ने कार्य धेरै छन् ।

ट्राफिक प्रहरीले गर्ने व्यवहारमा सुधारका लागि नेपाल प्रहरीले विभिन्न तालिम अनुशिक्षण कार्यक्रम र निर्देशन बेला–बेला दिइरहन्छ ।
ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई विभिन्न समस्याले नियमित गाँजिरहेको हुन्छ । ड्युटी समय, काम गर्ने अवधि, सवारी चालक, पैदलयात्री, सडक प्रयोग र सडक अतिक्रमणले काममा बाधा पारिरहेको हुन्छ । तैपनि यिनीहरूले काम गरिरहेका हुन्छन् । तर, केही यस्ता ट्राफिक प्रहरी पनि छन् जसले आफ्नो दायित्व बिर्सेर सर्वसाधारणलाई दुःख दिन पछाडि पर्दैनन् । यसको पछिल्लो उदाहरण जनकपुरधाममा भएको एक घरायसी विवादमा ट्राफिक प्रहरीको संलग्नताले स्पष्ट हुन्छ ।

जनकपुरधाममा एक ट्राफिक प्रहरीले आफूले गर्नुपर्ने काम बिर्सेर घरायसी विवाद मिलाउन पुगेको पाइएको छ । जनकपुरधाममा ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको र दैनिक रुपमा दुर्घटना बढिरहेपनि त्यसको निराकरणका लागि अवलम्बन गर्नुपर्ने उपायहरु नअपनाई ट्राफिक प्रहरीका वरिष्ठ सई राजिव तिवारी भने घरायसी झगडामा कुनै एकपक्षमा लागेर गुण्डाशैलीमा कुटपिटमा उत्रेका छन् ।

सोमबार जनकपुरधाममा ट्राफिक प्रहरीका वरिष्ठ सई तिवारी घरायसी विवाद मिलाउन पुगेको र त्यसमा पनि उनी दबंग शैलीले प्रस्तुत भई एक सर्वसाधारणलाई कुटपिटसमेत गरेको घटना बाहिरिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ मा घर निर्माण गरिरहेका बेचन साहको घरमा पुगेर ट्राफिक प्रहरीका वरिष्ठ सई तिवारी बर्दीमै पुगेर उनीमाथि हातपात गरेका हुन् ।

सोही ठाउँ बस्ने आलोक ठाकुर र बेचन साहबिच भएको सामान्य विवादका क्रममा आलोक सई तिवारीको साथी रहेकोले उनको पक्षमा गुण्डाशैलीमा प्रस्तुत भई तिवारीले आफूलाई कुटपिट गरेको बेचनले दुःखेसो सुनाए । तिवारीले आफूलाई लछारपछार समेत गरेको उनले बताए ।

बेचनले आफ्नो घरमा मजदुरहरुले काम गरिरहेको बेला सोही बाटो हुँदै गईरहेको क्रममा आलोक ठाकुरको शरीरमा माथिबाट सिमेन्ट झरेको र सोही रिसिइबीका कारण आफूलाई ट्राफिक प्रहरी बोलाएर कुटपिट गर्न लगाएको गुनासो गरे ।

आलोकले सई तिवारीलाई बोलाएर लछारपछार गर्दै कुटपिट गरेको पीडित साहले बताए । तिवारीले आफूलाई ‘तेरो अतरीमा हात हालेर निकालि हाल्छु’ भन्दै कुटपिटसमेत गरेको सुनाए ।

उनले यसअघि पनि आलोकले आफूसँग पटक पटक झगडा गर्दै आएको र पछि सोही ट्राफिकलाई बोलाएर आफूमाथि कुटपिट गर्न लगाएको बताए ।

यता, वरिष्ठ सई तिवारीले आफ्नो शरीरमाथि साहको घरमा काम गरिरहेका मजदुरहरुले सिमेन्ट फालेकोले आवेशमा आएर यस्तो भएको हुनसक्ने स्वीकार गरेका छन् । उनले त्यतिबेला आफू आवेशमा आएकोले आफूसँग सामान्य गल्ती भएको हुनसक्ने बताए ।

यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक चन्द्रभुषण यादवले त्यस्तो विवादमा ट्राफिक प्रहरी पुग्न नहुने बताउँदै घटनाको विषयमा आफूले बुझेपछि मात्र केही भन्न सक्ने बताए । उनले आफूले पनि सो घटनाको भिडयो हेरेको र घटना सम्बन्धमा थप कुरा बुझिरहेकोले केही समय लाग्नसक्ने बताए । उनले घरायसी विवादमा ट्राफिक प्रहरीले जानै नहुनेसमेत बताए । उनले आफूले घटनासम्बन्धी छानवीन गरिरहेको जानकारी दिएका छन् ।