यातायात व्यवसायीले यात्रुसँग मानोमानी तरिकाले बढी भाडा लिने गरेको आरोप

जनकपुरधाम, २९ भदौ । यातायात व्यवसायीहरुले मानोमानी तरिकाले यात्रुसँग बढी भाडा लिने गरेको पाइएको छ ।
यातायात व्यवसायीहरुले यात्रुसँग मनपरी भाडा बढाएर लिए पनि सम्बन्धित निकाय भने बेखबर बनेका छन् । यसरी मनपरी भाडा लिँदा पनि सम्बन्धित निकायले अनुगमन नगरेको यात्रुहरुको गुनासो छ ।
जनकपुरधामदेखि लहान–इटहरी–विराटनगरसम्म सञ्चालन हुने जालान डिलक्सले यात्रुहरुसँग रुपनीसम्मको भाडा मात्र ३५० रुपैयाँ लिइरहेको एक यात्रुको गुनासो छ ।
बढी भाडा लिएको विषयमा गुनासो गर्दा उल्टै व्यवसायीले धम्काउने गर्ने गरेको उनी बताउँछन् । बढी भाडा लिएको विषयमा अहिलेसम्म ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्बद्ध संस्था, जनप्रतिनिधि कसैले पनि चासो लिएको पाइदैन ।
जिल्ला ट्राफिक प्रहरी धनुषाका प्रमुख प्रहरी निरिक्षक चन्द्रभुषण यादवले अहिलेसम्म बढी भाडा लिएको गुनासो नआएको भन्दै यस विषयमा बुझेर कार्यान्वयन गर्ने बताए ।
सरकारले हरेक महिना कम्तिमा एक पटक ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्बद्ध संस्था, उपभोक्ता हितसँग सम्बद्ध संस्थाको प्रतिनिधि सहभागी गराई यातायात व्यवस्था विभागबाट भाडादरको अनुगमन गरिने भनिए पनि धनुषामा भने त्यस्तो गरेको पाइएको छैन् ।
यस सम्बन्धमा माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले बढि भाडा लिएको भए कारवाही हुनुपर्ने माग गरेका छन् । उनले यातायात व्यवसायीले यातायात व्यवस्था विभागले पछिल्लो पटक जेठ महिनामा निर्धारण गरेको भाडादरभन्दा बढि भाडा लिए कारवाही गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


