जनकपुरधाम, २८ भदौ । धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो गोली हानाहान भएको छ ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।

सोमबार राति ११ः४० बजेको समयमा पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा उनीहरूले फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो ।

प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । पक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको उनले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।